शुक्रबार, ३ अक्टोबर, २०२५
03:19 | ०८:०४

दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

नेपाली लिङ्क अक्टोबर १, २०२५

काठमाडौँ । नेपाली कांग्रेसले दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न र दण्डहीनतालाई प्रोत्साहन नगर्न अन्तरिम सरकारलाई चेतावनी दिएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन र दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सचेत गराएको हो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- “भदौ २३ र २४ गतेको घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानूनी गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता माथी प्रत्यक्ष अघात पुग्ने गरि आयोगलाई नभएको क्षेत्राधिकार विहीन कार्य गर्न गराउन सरकार उद्दत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोध प्रष्टै देखिने गरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दा अर्कै बाटो हिँड्न खोजेको देखिन्छ।”

विज्ञप्तिमा भनिएको छ, “तसर्थ दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न नेपाली कांग्रेस यो अन्तरिम सरकारलाई सचेत गराउँदछ ।”

कांग्रेसले जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा तोडफोड, आगजनी र लुटपाट गरि ध्वस्त बनाएको घटनाप्रति आपत्ति जनाएको छ। प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानविन आयोग गठन गरेको कुरा स्वागत योग्य भए पनि राजनीतिक दल र दल विशेषका नेताहरूमाथि बदलापूर्ण, प्रतिशोध लिने उद्देश्य भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

हतियार बोकेर आतंक फैलाउँदै हिँडेको अवस्थामा देखिएका भेटिएका व्यक्तिमाथि कारबाही नगर्ने भन्ने आसयको गृहको परिपत्रले संविधानको धज्जी उडाएको कांग्रेसको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन आयोग गठन गरेको कुरा स्वागत योग्य छ तापनि राजनैतिक प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित योजनाबद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विशेषका नेताहरुमाथि बदलापूर्ण, प्रतिशोध लिने उद्देश्यले छानी छानी खोजी खोजी आक्रमण गर्ने उनीहरुका कार्यालयहरू त्यसै गरी तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र बर्दी लुट्ने अनि सोही बर्दी लगाई हात हतियार बोकेर आतङ्क फैलाउँदै हिडेको अवस्थामा देखिएका भेटिएका व्यक्ति उपर प्रचलित कानून बमोजिम कुनै खोजतलास नगर्ने, कानूनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट मिति २०८२/६/९ मा जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधानवाद, कानूनी राज्य र विधिको शासनको धज्जी उडाएको छ ।”

कांग्रेसले पीडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधीहरुलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति भए नेपाली जनताका लागि स्वीकार्य नहुने समेत चेतावनी दिएको छ।

हेर्नुस् विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू