आन्दोलनमा कति लुटिए प्रहरीका हतियार?


 
    
    

काठमाडौँ । जेनजी आन्दोलनमा सरकारले गरेको दमन र त्यसको विरुद्धमा उर्लिएको विद्रोहमा ठूलो जनधनको क्षति भएको छ। दुई दिनका घटनामा ७४ जनाको ज्यान गएको छ भने करिब २ सय अझै अस्पतालमा छन्।
भदौ २३ गतेको आन्दोलनमा प्रहरीले गरेको बर्बर दमन र दोस्रो दिन भएको आगजनी र लुटपाट कति भयावह थियो भन्ने तथ्य प्रहरीको हतियार भण्डारको अभिलेखले पनि खुलाएको छ। प्रहरीको अभिलेख अनुसार हजार भन्दा बढी हतियारहरु लुटिएका छन् भने झण्डै लाखको हाराहारीमा गोली हराएका छन्।
प्रहरीले सूचना नै निकालेर लुटिएका हतियार फिर्ता गर्न आग्रह गरिरहेको छ। कतिपय ठाउँमा सेनाले केही हतियारहरु बरामद पनि गरेको बताइएको छ। तर पनि अझै धेरै हतियार पत्ता लागेका छैनन्। आन्दोलनकारीले लुटेका हतियार फिर्ता नहुँदा समाजमा त्रास फैलिएको छ।
नेपाल प्रहरीले तयार पारेको आन्तरिक विवरणअनुसार १२ सय ७६ थान राइफल/पिस्तोल लुटिएका छन्। त्यस्तै ९८ हजार ४ सय ९१ थान गोली अभिलेखमा आएका छैनन्। तीमध्ये प्रहरी आफैले चलाएको कति हो र लुटिएका कति हुन् भन्ने खुलाउन अधिकारसम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग नबनाउँदासम्म यथार्थ जानकारी नआउने पूर्वप्रहरी अधिकारीहरु नै बताउँछन्।
त्यस्तै १३ सय १५ राउन्ड रबर गोली अभिलेखमा कम भएका छन्। तीमध्ये कति प्रयोग भएका हुन् भन्ने प्रहरीले खुलाउन सकेको छैन। दुई दिनमा २२ सय २० पटक हवाई फायर र ३२ सय २३ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीको तथ्यांक छ।
जेनजी प्रदर्शनको पहिलो दिन नै प्रहरीको गोलीबाट मारिएका २१ जनामध्ये धेरैजसोको छाती र टाउकामा गोली लागेको त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टबाटै पुष्टि भइसकेको छ। प्रदर्शनको सुरक्षामा इन्सास, एसएलआरजस्ता घातक हतियारधारी सुरक्षाकर्मी बाक्लो तैनाथी थिए। प्रदर्शन क्षेत्र नजिकै रहेको संघीय संसद् भवनको सुरक्षामा खटिएका प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीलाई त इन्सास र एसएलआरसहित त्यसभन्दा बढी क्षमताका राइफल पनि दिएर खटाइएको थियो।
जेनजी प्रदर्शनमा भएको बल प्रयोग र त्यसपछि भड्किएको हिंसाबाट प्रहरीका भौतिक संरचनामा भएको क्षतिको मूल्यांकन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वको कार्यदल बनाएको छ। गोली लोड गरिएका हतियारसमेत हराएका छन्, जसले सार्वजनिक सुरक्षामा अहिले पनि चुनौती बढाइरहेका छन्।
भ्रष्टाचार नियन्त्रणसहितका माग राखेर सरकारलाई खबरदारी गर्न जेनजी पुस्ताले आह्वान गरेको भदौ २३ गतेको प्रदर्शनमा मात्रै प्रहरीको बर्बर दमनबाट १९ युवा विद्यार्थी मारिए। त्यसको विरोधमा २४ भदौमा काठमाडौंसहित देशभर भड्किएको हिंसामा प्रदर्शनकारी, सुरक्षाकर्मी र अन्यसमेत मृत्यु हुनेको संख्या ७४ पुगिसकेको छ। प्रदर्शनका क्रममा हिंसा भड्किँदा मानवीय मात्रै होइन, अकल्पनीय भौतिक क्षति पनि व्यहोर्नुपरेको छ।
अघिल्लो दिनको दमन र त्यसको विरोधमा भोलिपल्ट भड्किएको हिंसापछिको आगजनीमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरीका ब्यारेकदेखि सञ्चार, अन्य उद्योग/प्रतिष्ठान र व्यक्तिका भवन/संरचनामा दनदनी आगो लाग्दा निभाउनसमेत दमकल र वाटर क्यानन अभाव देखिएको थियो। यी उपकरण पर्याप्त भइदिएको भए कतिपय भवन/संरचना जोगाउने स्थितिमा रहेको विश्लेषण छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
