शनिबार, २० सेप्टेम्बर, २०२५
21:53 | ०२:३८

दसैँको मुखमा तातोपानी नाकामा अड्कियो ५० अर्ब बराबरको सामान

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२५

काठमाडौँ । दसैँका लागि चीनबाट ल्याइएका सयौँ कन्टेनर सिमा नाकामा रोकिदा अर्बौको सामान अलपत्र परेको छ।

गत साउन ६ गते भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा आएको पहिरोले तातोपानी नाका ठप्पप्राय:छ।

बाह्रबिसेदेखि माथि घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लेदोसहितको पहिरो बगिरहेको छ। यीमध्ये इको, पान्थली र डाक्लाङमा आएका तीन वटा पहिरोले दसैँका लागि आएका सामानहरू अड्‌किएका छन्।

देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि गत बिहीबार सडक विभागको टोली स्थलगत अनुगमनमा गएको थियो।

सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, सुभराज न्यौपानेलगायत टोलीले त्यहाँका स्थानीय, व्यवसायीसँग बिहीबार तातोपानी भन्सारमा छलफल गरेको थियो।

उक्त छलफलमा दसैँ लक्षित सामान अड्किपछि व्यवसायीहरू आक्रोशित थिए। करिब १ हजार ५ सय कन्टेनरमा दसैँ लक्षित आएको सामान अड्‌किएको शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए।

‘फलफूल र लसुन लगायत सामान कुहिएको छ,’ शेर्पाले भने, ‘कतिपय कन्टेनर चीनमै अड्‌किएको छ भने कतिपय नेपाल भित्रिएर पनि काठमाडौं पठाउन सकिएको छैन।’

व्यवसायी शेर्पाका अनुसार दसैँ लक्षित सामान ल्याएको शिल्कको मात्र करिब ८/९ सय वटा कन्टेनर फसेको छ। सामान लोड गरेर चीनमा एउटा कन्टेनर राखेको करिब १२ देखि १४ हजार रूपैयाँ तिर्नुपर्ने शेर्पाले बताए। दसैँ अगाडि पुर्‍याउनु पर्ने सामान अड्‌किएपछि आफूहरूले ठूलो घाटा व्यहोर्नुपर्ने उनले बताए।

यसअघि सरकारको ढोका ढकढक्याउँदा पनि वास्ता नगरेका कारण तातोपानीको सडक नबनेको शेर्पाको भनाइ छ।

असार २४ मा चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएपछि त्यहाँको सबै सामान तातोपानी नाकामा आएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताए।

तातोपानीबाट पनि सम्भव नभएपछि कतिपय सामान कोरला नाकाबाट ल्याइएको उनले बताए। बुधबार २५ कन्टेनर सामान भन्सार भएको उनको भनाइ छ। राज्य मात्रै नभएर भूगोल र प्रकृतिले पनि साथ नदिएको बस्नेतले बताए।

‘१२/१५ सय कन्टेनर चीनको भूभागमा अड्‌किएको छ। २/४ दिनमा सामान पुर्‍याउन सकिन्छ भन्ने आश अझै बाँकी छ,’ बस्नेतले भने, ‘नेपालमा अन्य ठाउँमा पुर्‍याउन नसके पनि काठमाडौं आसपास पुर्‍याउन सकिन्छ कि भन्ने लाग्छ।’

केरूङ, ल्हासा, सिगात्से, न्यालम, खासा र नेपालमा लोड भएर बसेका कन्टेनरका सामान लैजान नसकिएको उनले बताए।

उनका अनुसार ५० अर्ब रूपैयाँ बराबरको सामान फसेको छ। सामान बोकाएर पार गराउँदा महंगी बढ्‌ने उनको भनाइ छ। कोरला नाकाबाट सामान ल्याउँदा पनि दुरीको हिसाबमा टाढा पर्ने उनको भनाइ छ। उनका अनुसार कोरलाबाट काठमाडौं ४ सय किलोमिटर पर्छ भने तातोपानीबाट काठमाडौं ११४ किलोमिटरमा पुगिन्छ।

तातोपानी नाका बन्द हुँदा दैनिक करिब ७ करोड रूपैयाँ राजस्व गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले बताए। तातोपानी भन्सारलाई सरकारले २४ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले अल्पकालीन रुपमा २/४ दिनमै बाटो खोल्ने र दीर्घकालीन समाधानका लागि पनि काम शुरु गर्ने बताए।

चिनियाँ पक्ष सुरूङ बनाएर पनि काम गर्न तयार रहेको भन्दै जैसीले सुरूङ बनाउन स्थानीय तयार नभएपछि बाहिरबाट सडक बनाउनु पर्छ भनेर चीन पनि लागिरहेको बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू