नयाँ सरकार गठनपछि जनजीवन सामान्य, काठमाडौँमा चल्न थाले सवारीसाधन



काठमाडौँ, भदौ २८ गते । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।
आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कफ्र्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशीयाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य छ ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्धनको नाराका साथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
आमनागरिकको चाहना अनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समय सीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।
काठमाडौँमा चल्न थाले सार्वजनिक सवारीसाधन
जेनजी प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन काठमाडौँ उपत्यकामा चल्न थालेका छन् ।
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले भने, “शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन् । यात्रुहरूको चहलपहल बढेको देखिन्छ ।” त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरू काठमाडौँका लागि प्रस्थान गरेकाले काठमाडौँबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
गत मङ्गलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कफ्र्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौँको कफ्र्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५