दोस्रो दिन देशैभर झन् चर्किंदै जेन जी आन्दोलन

काठमाडौं- भष्ट्राचार र कुशासनविरुद्ध सुरु भएको जेन–जी पुस्ताको आन्दोलन दोस्रो दिन मंगलबार झनै तीव्र बनेको छ ।
राजधानी काठमाडौंसहित देशका विभिन्न सहरमा युवाहरू सडकमा उत्रिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
काठमाडौं उपत्यकामा मंगलबार बिहानैदेखि नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा विद्यार्थी तथा युवाहरू भेला भई नाराबाजी गरेका छन् ।
आन्दोलन चर्किएपछि सरकारले संसद भवन वरिपरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा समेत आन्दोलनकारीहरू सडकमा उत्रिएका छन् ।
सोमबारको प्रदर्शनमा ठूलो संख्यामा युवाको मृत्यु भएपछि राजनीतिक संकट थप गहिरिएको छ । गृह मन्त्री रमेश लेखकले सोमबार बेलुकै राजीनामा दिएका थिए भने मंगलबार कृषि मन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवले पनि पदत्याग गरेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि राजीनामा दिने तयारीमा छन्। लगातारका राजीनामाले ओली नेतृत्वको सरकारभित्रै ठूलो दबाब परेको छ ।
मंगलबारको आन्दोलनमा विभिन्न स्थानमा ढुंगा प्रहार र तोडफोडसमेत भएको छ । देशैभर प्रदर्शनकारीले पार्टी कार्यालय र नेता, मन्त्रीका घर छानी छानी आगजनी र तोडफोड गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरिएको छ। माओवादी अध्यक्ष प्रचण्डको निवासमा समेत आक्रमण भएको जनाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्रीको निवासमा ढुंगा प्रहार भएको छ भने सूचना तथा सञ्चार मन्त्रीको निवासमा आगजनी गरिएको छ ।
आन्दोलनकै बीचमा प्रधानमन्त्री ओली स्वास्थ्य कारण देखाउँदै दुबई जाने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा फैलिएको छ । उनको यात्राका लागि निजी विमानसमेत तयारी अवस्थामा राखिएको बताइएको छ ।
यसैबीच यातायात व्यवसायीहरूले मंगलबारदेखि देशव्यापी यातायात बन्दको घोषणा गरेका छन्, जसले जनजीवन थप अस्तव्यस्त बनेको छ ।
दोस्रो दिनको आन्दोलनले स्पष्ट रूपमा देखाएको छ कि युवाहरूको आक्रोश केवल सामाजिक सञ्जालको पहुँचमा सीमित छैन, बरु व्यापक असन्तोष, भ्रष्टाचार र शासनप्रति बढ्दो अविश्वासले आन्दोलनलाई नयाँ मोड दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


