शुक्रबार, १८ जुलाइ, २०२५
21:01 | ०१:४६

पोखराका हरेक १० होटलमध्ये एउटामा बेलायतका नेपालीको लगानी

नेपाली लिङ्क जुलाइ १८, २०२५

काठमाडौं – व्यवसायी राजेन्द्र खेतानले पोखराका हरेक १० वटा होटलमध्ये एउटा बेलायती नेपालीले संचालन गरेको  होटेल रहेको बताएका छन् । बिहीवार सिंहरदरबारमा बसेको नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बेलायती नेपालीहरुको चाहना नेपालको माटोमा लगानी गर्ने रहेको उनले बताए। नेपाल-बेलायत च्याम्बर अफ कमर्सका प्रमुख पनि रहेका उनले लगभग एक लाख बढी नेपाली बेलायतमा ‘भायब्रेण्ट सोसाइटी’ को रुपमा रहेको र उनीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

नेपाल-बेलायत संसदीय मैत्री समूहले नीतिनिर्माण सम्बन्धी अनुभव आदानप्रदान गर्दै लगानी प्रवर्द्धनसम्बन्धी विषयमा छलफल गरेको थियो ।

उक्त बैठकमा वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी तथा नेपाल बेलायत वाणिज्य महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै दुवै देशबीचका विभिन्न क्षेत्रमा लगानी प्रवर्द्धनका लागि संसदीय कूटनीतिको प्रयोग गर्ने निष्कर्ष निकालिएको छ।


समूहका संयोजक विराजभक्त श्रेष्ठले नेपाल र बेलायतबीचको संसदीय अभ्यास तथा नीतिनिर्माण प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा वेस्टमिन्स्टर फाउन्डेसनसँग सहमति भएको जानकारी दिए।

दुवै संस्थासँगको सहकार्यका लागि प्रारम्भिक मस्यौदा तयार गरिने बताइएको छ। साथै, नेपाल-यूके सम्बन्धको संसदीय पक्षबारे परराष्ट्र मन्त्रालयसँग थप छलफल गर्ने निर्णय पनि समूहले गरेको छ।

बैठकमा वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसीका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म सम्पन्न कार्यक्रमहरू, समझदारीपत्रको प्रारूप तथा भावी योजनाका बारेमा प्रस्तुति दिएका थिए।

मैत्री समूहका अनुसार, नेपाल-यूके सम्बन्ध अझ सुदृढ बनाइनेछ र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाइनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू