शुक्रबार, २७ नोभेम्बर, २०२६
22:52 | ०४:३७

आउँदो पुस्ताका लागि उत्थानशील समाजको निर्माण

सुधीर गौतम नोभेम्बर २७, २०२६

लेखक सुधीर गौतम

विगत एक शताब्दीमा हाम्रो जीवन पहिचान नहुने गरी बदलिएको छ। प्रविधि, खानाका विविध विकल्प र राम्रा घरहरूले जीवनस्तर उकालो लगाएका छन्, र केही परिवारहरू श्रमिक वर्गको पृष्ठभूमिबाट मध्यम आयको जीवनमा पुगेका छन्। तर हामी यस सुविधामा यति अभ्यस्त भएका छौं कि यो सधैंको जस्तो लाग्न थालेको छ, र हामी प्रायः नदेखिने प्रणालीहरूमा निर्भर भएका छौं – पसलका सेल्फ भर्ने आपूर्ति शृङ्खला, घरहरूमा बिजुली पुर्‍याउने ग्रिड, र सन्देश बोक्ने सञ्चार सञ्जाल। यस क्रममा, हाम्रा पुर्खाहरूलाई भर दिने धेरै व्यावहारिक सीपहरू, जस्तै पानी खोज्ने, खाना जोगाउने, न्यानो राख्ने, दैनिक जीवनबाट हराउँदै गएका छन्। प्राकृतिक होस् वा मानवसिर्जित, विपत्ति आउँदा वा कोभिडजस्तो संकटमा, हामीलाई कसरी सम्हाल्ने भन्ने थाहा नहुन सक्छ। यस क्षमताको केही भाग फेरि निर्माण गर्नु नै आजको उत्थानशीलताको अर्थ हो। यसले आधुनिक जीवनलाई अस्वीकार गर्नु होइन, तर प्रणालीहरू कमजोर पर्दा हामी आफैं र एक-अर्काको हेरचाह गर्न सक्षम हुनु हो।

उत्थानशीलताका एकभन्दा बढी अर्थ छन्। इन्जिनियरिङमा यसले कुनै पदार्थले कति दबाब सहेर पनि आफ्नो मूल आकारमा फर्कन सक्छ भन्ने कुरा बुझाउँछ। मनोविज्ञानमा यसले मानिसहरू असफलता वा कठिनाइबाट कसरी उठेर अघि बढ्छन् भन्ने कुरा बुझाउँछ। आपतकालीन योजनामा यसले अत्यावश्यक सेवाहरू अवरुद्ध हुँदा समुदाय कति राम्रोसँग चलिरहन सक्छ भन्ने कुरा बुझाउँछ। मलाई सबैभन्दा बढी मन पर्ने अर्थ भनेको स्प्रिङजस्तै फेरि उफ्रिने क्षमता। स्प्रिङलाई धेरै दबाउन सकिन्छ, तर दबाब हटाएपछि त्यो आफ्नो आकारमा फर्कन्छ। यस अर्थमा उत्थानशीलता कहिल्यै नदबिनुमा होइन। यो दबाब आउँदा पुनः सन्तुलनमा फर्किनु र त्यसका लागि तयार रहनु हो।

हामीमध्ये धेरैजसो हुर्किँदै गर्दा उत्थानशीलता (Resilience) हाम्रो जीवनशैलीको एउटा स्वाभाविक हिस्सा थियो। त्यतिबेला आजजस्ता सुविधाहरू सधैँ उपलब्ध हुँदैनथे। त्यसैले परिवारहरूले सीमित स्रोतसाधनमै जीवन चलाउन, बिग्रिएका सामान मर्मत गर्न, आवश्यक सामग्री भण्डारण गर्न र एकअर्कासँग बाँडचुँड गर्न सिक्थे। तर आजका धेरै पुस्ताका लागि उत्थानशीलता दैनिक जीवनमा अभ्यास गरिने बानीभन्दा पनि कक्षाकोठामा सिकाइने एउटा अवधारणामा सीमित हुँदै गएको छ। यही दूरीलाई कम गर्न आधारभूत व्यावहारिक सीपहरू सिकाउनु र तिनलाई नियमित रूपमा अभ्यास गर्ने बानी विकास गर्नु आवश्यक छ, न कि सबै कुरा सहजै उपलब्ध भइरहन्छ भन्ने मान्यतामा निर्भर रहनु।

मेरी छोरीले मलाई पसलमा गएर सामान जम्मा गर्न निरन्तर दबाब दिइरहेकी छिन्, र उनी बारम्बार ब्ल्याकआउट (बिजुली वा सेवा बन्द हुने) परिदृश्यहरू उठाउँछिन्।

अक्टोबरमा क्याबिनेट अफिसले “Be Ready” अभियान सुरु गर्‍यो, जसमा हरेक घरपरिवारलाई दैनिक सेवा अवरुद्ध भएमा तीन दिनसम्म व्यवस्थापन गर्न पर्याप्त आवश्यक सामान राख्न आग्रह गरिएको छ। यो तीन वर्षे कार्यक्रमको पहिलो चरण हो, र यसले बिजुली, पानी, फोन र इन्टरनेटलाई समेट्छ।

सरकारको तर्क यो अभियानका लागि जोखिमहरूको मूल्याङ्कनमा आधारित छ, र मन्त्रीहरूले कुन जोखिम सबैभन्दा महत्त्वपूर्ण हो भन्ने कुरा स्पष्ट पारेका छन्। दैनिक जीवनमा तयार हुनुपर्ने कारणहरूमा गम्भीर मौसम, बाढी, बिजुली कटौती र पाइप फुट्ने घटनाहरू पर्छन्। कम परिचित जोखिमहरूमा साइबर आक्रमण र महत्त्वपूर्ण पूर्वाधारमाथि शत्रु राष्ट्रहरूको गतिविधि पर्छन्।

यो अभियान व्यापक उत्थानशीलता योजनाभित्र पनि पर्छ, जसले घरेलु उत्थानशीलतालाई राष्ट्रिय सुरक्षा रणनीतिको मुख्य अंग मान्छ। यसका लेखकहरूले युक्रेन र मध्यपूर्वमा चलिरहेका द्वन्द्वहरूसँग केही हदसम्म जोडिएका, अझ जटिल र एकअर्कामा गाँसिएका जोखिमहरूको वर्णन गर्छन्।

केही मानिसहरूले युद्ध वा गम्भीर मौसम, साइबर आक्रमणजस्ता ठूला विपत्तिहरू आउन सक्ने अनुमान गरेका छन्। यस्ता अनुमान कति सही छन् भन्न सकिंदैन, तर एउटा कुरा स्पष्ट छ: रोकथाम उपचारभन्दा सधैं सस्तो र सजिलो हुन्छ। र, यस्ता सम्भावित चुनौतीहरूको सामना गर्न सक्ने क्षमता विकास गर्ने एउटा महत्त्वपूर्ण उपाय भनेको उत्थानशीलता (Resilience) हो।

केही न केही पक्कै पाकिरहेको छ जस्तो देखिन्छ, किनकि बेलायत सरकारले प्रस्ताव गरेको राष्ट्रिय लचिलोपन तथा रक्षा तयारी विधेयक (National Resilience and Defence Readiness Bill) को उद्देश्य युद्ध, साइबर आक्रमण, महामारी, चरम मौसमी अवस्था तथा अत्यावश्यक सेवाहरूमा आउन सक्ने अवरोधलगायतका ठूला राष्ट्रिय सङ्कटहरूको सामना गर्न र त्यसबाट पुनः सामान्य अवस्थामा फर्कन बेलायतको क्षमता सुदृढ बनाउनु हो। यसको व्यापक उद्देश्य सङ्कट उत्पन्न भएपछि मात्र त्यसको सामना गर्ने नभई, लामो समयसम्म अवरोध र असहज अवस्था रहन सक्ने परिस्थितिका लागि बेलायतलाई पहिल्यैदेखि पर्याप्त रूपमा तयार राख्नु हो।

यसको एउटा पछिल्लो उदाहरण बेलायतमै देखिएको छ। गत राति साइबर सुरक्षासम्बन्धी घटनापछि बेलायतको श्रम तथा पेन्सन विभाग (Department for Work and Pensions – DWP) का प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका थिए। यस विभागले युनिभर्सल क्रेडिटलगायतका सामाजिक सुरक्षा तथा आर्थिक सहायता कार्यक्रममार्फत २ करोडभन्दा बढी मानिसलाई सेवा प्रदान गर्दै आएको छ। तीमध्ये समाजका सबैभन्दा बढी सहयोग आवश्यक पर्ने र आर्थिक रूपमा कमजोर मानिसहरू पनि छन्।

युद्ध वा ठूलो प्राकृतिक विपत्तिभन्दा पनि भुक्तानी प्रणालीमा समस्या आउनु वा साइबर आक्रमणका कारण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनु अझ सम्भावित अवस्था हुन सक्छ। यदि एकै समयमा सरकारी सहायता प्रणाली र बैंकिङ सेवा दुवै अवरुद्ध भए भने परिवारहरूलाई सुपरमार्केटबाट खाद्यान्नसमेत खरिद गर्न कठिन हुन सक्छ। यस्तो अवस्थामा पसलहरूले सामान निःशुल्क बाँड्ने अपेक्षा गर्न सकिँदैन र भुक्तानी लिन नसक्दा पसलहरू बन्द हुन सक्छन्। सामान सञ्चय गर्ने कुरा पसलका र्‍याकमा के छ भन्नेमा मात्र सीमित हुँदैन। नगद वा कार्डबाट भुक्तानी गर्न नसक्दा के हुन्छ? पसलहरूले नयाँ सामान मगाउन, बेच्न वा आपूर्ति गर्न नसक्दा दैनिक जीवन कसरी प्रभावित हुन्छ? यी सम्भावित अवस्थालाई पनि ध्यानमा राखेर तयारी गर्नु आवश्यक छ।

उत्थानशीलता (Resilience) लाई घरमा खाद्यान्न, पानी र अन्य अत्यावश्यक सामग्री भण्डारण गर्नुसँग मात्र जोडेर बुझ्नु हुँदैन। व्यक्तिगत परिवारले आफ्नै बलबुतामा परिस्थितिको सामना गर्न नसक्ने अवस्था आयो भने के हुन्छ? विशेषगरी ज्येष्ठ नागरिक, जोखिममा रहेका परिवार तथा सीमित स्रोतसाधन भएका मानिसहरूलाई यस्तो कठिन समयमा कसले सहयोग गर्ने? अन्ततः उत्थानशीलता भनेको आफूले आफूलाई कति राम्रोसँग तयार राखेका छौँ भन्ने मात्र होइन, कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्न हामी कति तयार छौँ भन्ने पनि हो।

यो लेख लेख्दै गर्दा एउटा हिन्दी गीतको सम्झना आयो, ‘अपनी तो जैसे-तैसे कट जाएगी, तेरा क्या होगा?’ त्यसैले हाम्रो आगामी पुस्तालाई लचिलो र हरेक चुनौतीको सामना गर्न सक्षम बनाउन आवश्यक छ।

इतिहासकार युभाल नोआ हरारीले ’21 Lessons for the 21st Century’ मा तर्क गर्छन् कि अर्को पुस्ताका लागि सबैभन्दा महत्त्वपूर्ण सीप भनेको निरन्तर परिवर्तन हुँदै नयाँ कुरा सिक्ने क्षमता हो। उनी सुझाउँछन्- कुनै एउटा निश्चित सीपको सेटभन्दा अनुकूलन गर्न सक्ने क्षमता बढी महत्त्वपूर्ण हुनेछ। यही सन्दर्भमा इतिहासकार युभाल नोआ हरारीको विचार हाम्रो बिन्दुसँग मिल्छ- ‘यदि उत्थानशीलता विद्यालयमा अवधारणाका रूपमा सिकाइन्छ भने यसलाई दैनिक बानीका रूपमा पनि अभ्यास गर्नुपर्छ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू