बिहीबार, १ अक्टोबर, २०२६
10:18 | १५:०३

६० वर्ष पुगेपछि बूढो हुने कि अझै उपयोगी हुने?

नेपाली लिङ्क अक्टोबर १, २०२६


सन्दर्भ : अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

आज १ अक्टोबर, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। संयुक्त राष्ट्रसङ्घले सन् १९९० मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेको थियो। नेपालमा पनि ज्येष्ठ नागरिकलाई सम्झने आफ्नै दिन छ।

सरकारले हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ। नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको सम्झनामा यो दिवस मनाइन्छ।

सामान्यतः ६० वर्ष वा त्यसभन्दा माथिको उमेरलाई ज्येष्ठ उमेरका रूपमा लिइन्छ। तर ६० वर्ष पुग्दैमा मानिस बूढो हुन्छ त? कानुनले उमेरको सीमा तोक्न सक्छ, तर मानिसको अनुभव, क्षमता र उपयोगिताको म्याद तोक्न सक्दैन। कोही ६० वर्षमै कमजोर हुन सक्छन् भने कोही १०० वर्षमा पनि सक्रिय काम गरिरहेका हुन्छन्। त्यसैले उमेर र उपयोगितालाई एउटै तराजुमा राख्नु उचित हुँदैन।

विश्व नै तीव्र रूपमा बुढ्यौलीतर्फ गइरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९९५ मा विश्वमा ६० वर्षमाथिका मानिस करिब ५४ करोड थिए। सन् २०२५ सम्म यो संख्या करिब १ अर्ब २० करोड पुगेको छ र सन् २०५० सम्म २ अर्ब १० करोड पुग्ने अनुमान छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्म संसारका प्रत्येक छ जनामध्ये एक जना ६० वर्ष वा त्यसभन्दा माथिको हुनेछन्।

यसको अर्थ वृद्धावस्था अब केही परिवारको निजी विषय मात्र रहेन। स्वास्थ्य, पेन्सन, रोजगारी, आवास, सामाजिक सुरक्षा र पारिवारिक सम्बन्धसँग जोडिएको विश्वव्यापी प्रश्न बनिसकेको छ। मानिस लामो समय बाँचिरहेका छन् भने ६० वा ६५ वर्षपछि जीवनलाई कसरी अर्थपूर्ण, आत्मनिर्भर र सक्रिय बनाउने भन्ने सोच पनि बदलिनुपर्छ।

बेलायतको उदाहरण यसका लागि रोचक छ। यहाँ राज्य निवृत्तिभरण पाउने उमेर सबैका लागि एउटै छैन। व्यक्तिको जन्ममितिका आधारमा निवृत्तिभरण पाउने उमेर निर्धारण हुन्छ। ६ अक्टोबर १९५४ देखि ५ अप्रिल १९६० सम्म जन्मेकाहरूको उमेर ६६ वर्ष हो। त्यसपछि जन्ममितिअनुसार यो उमेर क्रमशः बढ्दै जान्छ र ६ मार्च १९६१ देखि ५ अप्रिल १९७७ सम्म जन्मेकाहरूका लागि ६७ वर्ष पुग्छ।

हालको कानुनी तालिकाअनुसार ६ अप्रिल १९७७ देखि ५ अप्रिल १९७८ सम्म जन्मेकाहरूका लागि ६७ बाट ६८ वर्षतर्फ क्रमशः बढाइनेछ र ६ अप्रिल १९७८ वा त्यसपछि जन्मेकाहरूका लागि ६८ वर्ष कायम छ। भविष्यमा ६९ वर्ष वा त्यसभन्दा माथि पुर्‍याउने हो कि होइन भन्ने कुरा अहिले निश्चित छैन, त्यसका लागि आगामी सरकारी पुनरावलोकन र संसद्को निर्णय आवश्यक पर्छ। अर्थात् मानिसको औसत आयु बढ्दै जाँदा निवृत्तिभरण पाउने उमेर पनि विस्तारै पछाडि धकेलिँदै गएको देखिन्छ।

लामो समय स्वस्थ र सक्रिय रहन सक्ने मानिसलाई आफ्नो इच्छा र क्षमताअनुसार काम, स्वयंसेवा वा सामाजिक गतिविधिमा संलग्न हुने अवसर दिनुपर्ने सोच बलियो हुँदै गएको छ।

हाम्रो समाजमा भने जागिरबाट अवकाश पाउनुलाई जीवनबाटै अवकाश पाएजस्तो बुझिन्छ। पद गयो, निर्णय गर्ने अधिकार पनि गयो। छोराछोरी ठूला भए, उनीहरूको कुरा सुन्ने समय घट्यो। अनि वर्षमा एक दिन माला लगाएर सम्मान गरियो भने ज्येष्ठ नागरिकप्रतिको कर्तव्य पूरा भएको ठानिन्छ।

जसले परिवार हुर्कायो, सन्तान पढायो, संस्था चलायो, खेत जोत्यो, विद्यालयमा पढायो र समाजमा भएका परिवर्तन आफ्नै आँखाले देख्यो, उसैलाई ६० वर्षपछि हामी केवल सहयोग चाहिने मानिसका रूपमा हेर्न थाल्छौँ। शरीरले विश्राम खोज्न सक्छ, तर अनुभव कहाँ अवकाशमा जान्छ?

एउटा अनुभवी किसानसँग माटो, मौसम र खेतीको ज्ञान हुन्छ। शिक्षकसँग पुस्ता परिवर्तनको अनुभव हुन्छ। पूर्वकर्मचारीसँग संस्था र व्यवस्थापनको व्यावहारिक ज्ञान हुन्छ। व्यवसायीले बजार र मानिस बुझ्छ। विदेशमा लामो समय काम गरेको नेपालीसँग अर्को समाजको अनुभव हुन्छ। यस्तो ज्ञानलाई उपयोग नगर्नु भनेको समाजको एउटा ठूलो जीवित ज्ञानभण्डारलाई आफैँ बेवास्ता गर्नु हो।

तर ज्येष्ठ नागरिक सबै एउटै अवस्थामा हुँदैनन्। कसैसँग पर्याप्त आम्दानी हुन्छ, कसैसँग हुँदैन। कोही स्वस्थ र सक्रिय हुन्छन्, कोही निरन्तर हेरचाहमा निर्भर हुन्छन्। कोही परिवारसँगै बस्छन्, कोही एक्लै। त्यसैले ज्येष्ठ नागरिकको नीति पनि सबैलाई एउटै ढाँचामा राखेर बनाउने विषय होइन। आवश्यक परेकालाई सुरक्षा र सक्षम रहेकालाई अवसर दुवै चाहिन्छ।

नेपालका लागि यो विषय अझ संवेदनशील छ। लाखौँ युवा रोजगारी र अध्ययनका लागि विदेशमा छन्। गाउँघरमा धेरै ज्येष्ठ अभिभावक एक्लै बस्नुपर्ने अवस्था छ। विदेशबाट पैसा पठाउन सकिन्छ, औषधि किन्न सकिन्छ, घर बनाउन सकिन्छ, तर पैसा र मानवीय साथ एउटै कुरा होइन। छोराछोरी विदेशमा सफल भइरहँदा पनि बाबुआमाको घरमा कहिलेकाहीँ कुराकानी गर्ने मान्छेको अभाव हुन सक्छ। त्यसैले ज्येष्ठ नागरिकको प्रश्न हाम्रो बदलिँदो परिवार संरचनासँग पनि जोडिएको छ।

अर्कोतर्फ, विदेशमा रहेका नेपाली ज्येष्ठ नागरिकसँग दुई समाजको अनुभव छ। उनीहरूले नेपालमा हुर्किएको जीवन देखेका छन् र बेलायतजस्ता देशको सामाजिक व्यवस्था पनि भोगेका छन्। उनीहरूको अनुभव नेपालका विद्यालय, सामाजिक संस्था, व्यवसाय, स्वास्थ्य सेवा वा स्थानीय विकासमा उपयोग गर्न सकिने सम्भावना छ।

त्यसैले ज्येष्ठ नागरिक दिवसमा फूलमाला र भाषणभन्दा ठूलो सम्मान उनीहरूको आत्मसम्मान जोगाउनु हो। आवश्यक पर्दा सुरक्षा दिनु, सक्षम छन् भने काम र सामाजिक सहभागिताको अवसर दिनु, परिवारमा उनीहरूको कुरा सुन्नु र उनीहरूलाई ‘अब त तपाईंको काम सकियो’ भन्ने व्यवहार नगर्नु हो।

राजनीतिमा पनि अहिले ‘पुराना हटाऊ, नयाँ ल्याऊ’ भन्ने बहस सुनिन्छ। नयाँ पुस्तालाई अवसर दिनु, नेतृत्वमा पुस्तान्तरण गर्नु र लामो समय एउटै व्यक्तिमा निर्भर रहने प्रवृत्ति घटाउनु आवश्यक हुन सक्छ। तर यसको अर्थ पुरानो पुस्ताको अनुभव र योगदानलाई नै अस्वीकार गर्नु भने होइन। सक्रिय राजनीतिक पद नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ, तर अनुभव, ज्ञान र विगतका सिकाइलाई सल्लाह, मार्गदर्शन र विचार निर्माणमा उपयोग गर्न सकिन्छ। नयाँ पुस्तालाई ठाउँ दिनु र पुरानो पुस्तालाई सम्मान गर्नु एकअर्काका विरोधी कुरा होइनन्। पदबाट विश्राम लिनु र समाजबाट अवकाश लिनु पनि एउटै कुरा होइन। नेतृत्व हस्तान्तरण हुन सक्छ र पर्छ पनि , तर अनुभवलाई पुरै तिरस्कार गर्न पर्छ भन्ने होईन।

ऊमेर जीवनको एउटा संख्या हो, अनुभव जीवनको सम्पत्ति। ६० वर्ष पुगेपछि मानिसको शरीरमा केही परिवर्तन आउन सक्छ, तर उसको अनुभव, स्मृति, सीप र जीवनबाट सिकेको ज्ञान अचानक समाप्त हुँदैन।

त्यसैले आजको प्रश्न ‘६० वर्ष पुगेपछि बूढो हुने कि नहुने?’ मात्र होइन। वास्तविक प्रश्न त हामी कस्तो समाज बनाउँदैछौँ भन्ने हो। उमेर बढ्दै जाँदा मानिसलाई किनारामा धकेल्ने समाज कि उमेरसँगै उसको अनुभवको मूल्य पनि बढाउने समाज?

ज्येष्ठ नागरिक दिवसको साँचो अर्थ सायद यही हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू