शुक्रबार, २७ नोभेम्बर, २०२६
22:27 | ०४:१२

भूतपूर्व गोर्खाहरुलाई एभरेष्ट ल फर्मका सोलिसिटरले दिए निशुल्क कानूनी परामर्श

नेपाली लिङ्क नोभेम्बर २७, २०२६

लन्डन । बेजिङस्टोक नेपलिज कम्युनिटीले भूतपूर्व गोर्खाहरुसंग सम्बन्धित अध्यागमन नीति र यसको प्रभावबारे एक अन्तरक्रिया गरेको छ ।

कम्युनिटीले शुक्रबार बेजिङस्टोकमा लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्म आवद्ध सोलिसिटरहरु एवं केस वर्करको उपस्थितिमा वृहत अन्तरक्रिया गरेको हो ।

बेलायत सरकारले अध्यागमन नीति परिवर्तन गरिरहेका बेला एभरेष्ट ल फर्मले ब्रिटिश गोर्खा सरोकारका विषयमा अपडेट, अन्तरक्रिया एवं निशुल्क कानूनी परामर्श दिएको छ ।

कार्यक्रममा वरिष्ठ सोलिसिटर राजु थापाले अहिले विभिन्न एकलाख ५७ हजार मुद्दा पेन्डिङमा रहेका र अदालतमा फैसला मितिका लागि करिब डेढ वर्ष जति प्रतिक्षा गर्नु परेको बताए ।

धेरै ब्रिटिश गोर्खा र तिनका वयस्क सन्तान बेलायत आइसकेकाले केसहरु अब टुंगिने अवस्थामा पुगेको जनाउंदै सोलिसिटर थापाले उमेर हदका कारण बेलायत आउन कुनै समस्या नभएकाले बांकी रहेकालाई आवेदन दिन सुझाए ।

आफ्नो फर्मको सफलता दर ९० प्रतिशत भएको जनाउंदै थापाले आफूहरुले पछिल्लो पटक ६९ वर्षीय गोर्खा सन्तानको मुद्दा उच्च अदालतबाट जितेको उदाहरण दिए । थापाले पहिलो आवेदनमै ७२ वर्षीय गोर्खा सन्ततिले भिजा पाएको, २०१९ मा ३० वर्ष उमेर क्राइटेरिया भएपनि ५६ वर्षका सन्तानले समेत अपिल जितेर बेलायत आएको र ०२३ मा ६४ वर्षीय गोर्खा सन्तानलाई पनि अपिलमार्फत बेलायत ल्याइएको जस्ता आफ्ना उपलब्धि सुनाए ।

सोलिसिटर थापाले विगत १८ महिना अवधिमा आफ्नो फर्मबाट आवेदन दिएका २६० वटा केस होम अफिसले वीथड्र गरिदिएको तथ्यांक प्रस्तुत गर्दै यसो हुनु भनेको अदालतमा सुनुवाइमा नगई भिजा प्राप्त हुनु रहेको स्पष्ट पारे ।

थापाले भूतपूर्व गोर्खाहरुका केस असफल हुनुका कारण समेत बताए । आफ्ना सन्तानसंग भावनात्मक रुपमा निकट रहेको नदेखिनु, सन्तानलाई पैसा पठाएको नभेटिनु (आर्थिक सहयोगको प्रमाण अपुग) र छोराछोरी भेट्न निरन्तर नेपाल गएको नपाइनु जस्ता कुराले केस असफल हुने गरेको थापाले जनाए ।

बयान दिने बेला आफ्ना सन्तानको बारेमा विस्तृत रुपमा खुलाउन पनि थापाले सुझाए । बयान एउटा, अदालतमा अर्को बोल्यो भने केस बिग्रनेबारे सचेत गराउंदै थापाले शुरुमा किण्डर रोलमा विवरण छुटेको भन्दै पछि थप्दा केस बिग्रिएको पाइएको पनि सुनाए ।

आफ्नो स्वास्थ्यमा भएका समस्याको मेडिकल रिपोर्ट हाल्न, पैसा पठाउने बेला सन्तानको ठेगाना सही राख्न, इमेल अद्यावधिक गर्न र आवेदनका साथ यथेष्ट प्रमाण पेश गर्न सोलिसिटर थापाको सुझाव थियो ।

अहिले योग्यता नै नभएका व्यक्तिले समेत सामाजिक सञ्जालमा अध्यागमन कानूनबारे गलत सूचना र सल्लाह दिई भ्रम फैलाउने क्रम बढेको जनाउंदै सोलिसिटर थापाले अनाधिकृत सूचना दिने व्यक्तिलाई दुई वर्ष कैद र जरिवानासमेत हुन सक्ने औंल्याए । उनले कानून व्यवसायी छनोट गर्दा उसको अनुभव, योग्यता र पृष्ठभूमि विचार गरेर मात्र सेवा लिन पनि आग्रह गरे ।

एभरेष्ट ल फर्मकै सिनियर सोलिसिटर इमरान अलीले आफूहरुले भूतपूर्व गोर्खाहरुका मुद्दा कसरी सफल गरिएको छ भन्नेबारे उदाहरण पेश गरेका थिए । एभरेष्ट ल फर्ममा विगत डेढ दशकदेखि जोडिएको स्मरण गर्दै इमरानले आफू गोर्खा मुद्दामा लामो समयदेखि काम गरेको र गोर्खा र नेपाली समुदाय आफ्नो आत्मामा सधैं रहेको बताए ।

एभरेष्ट लले शुरुतिर नेपालमा आवेदकहरुसंग प्रत्यक्ष कुराकानी गरेर बयान समेत लिने गरेको इतिहास कोट्याउंदै इमरानले केसमा सुक्ष्म अध्ययन, परामर्श र सतप्रतिशत सफलतासंगै अरु फर्म भन्दा एभरेष्टले फरक पहिचान बनाएको बताए ।

शुरुमा बयान दिंदा जे भनिएको थियो, पछि अदालतमा विवरण फरक पर्दा समस्या सृजना हुने गरेको जनाउंदै सोलिसिटर इमरान अलीले गोर्खा वृद्धवृद्धामा अंग्रेजी भाषा समस्या चुनौतीका रुपमा रहेको सुनाए । उनले नेपाली बोल्ने सोलिसिटरसंग सल्लाह लिन र काम गर्न सुझाए ।

बेलायत आउन पाउने अवसर अझै धेरै भएको उल्लेख गर्दै अलीले बेलायत आउन पाइन्छ भनेर सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको तर त्यसो नगर्न सुझाव दिए । आफ्नो स्थायी ठेगाना गाउंमा भएपनि पछि शहरतिर बसिरहेको छ भने सोही विवरण स्पष्ट खुलाउन सुझाव दिंदै सोलिसिटर अलीले सन्तानलाई पैसा पठाउंदा अनलाइन र बैंकमार्फत पठाउंदा प्रमाण समेत रहने उनको धारणा थियो ।

सोलिसिटर अलीको अंग्रेजी भनाइ एभरेष्ट कै केस वर्कर डोरिसा आचार्यले अनुवाद गरेकी थिइन् ।

एभरेष्ट ल फर्मका अर्का केस वर्कर मोहमद सकिल अक्रमले होम अफिसले हालै घोषणा गरेको सेटलमेन्ट सम्बन्धि नयां अध्यागमन नियम र परिवर्तित स्किल्ड वर्कर भिजाबारे अवगत गराएका थिए । सरकारले कमाइका आधारमा सेटलमेन्ट राइट्स पाउने समय निर्धारण गरेको जनाउंदै अक्रमले पिएसडब्लु भिजामा बसेकाले न्यूनतम तलब थ्रेसहोल्डमै वर्क परमिटमा जान अझै सहज रहेको बताए।

बेलायत, नेपाल र भूतपूर्व गोर्खाहरु सम्मिलित त्रिपक्षीय वार्तामा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका मेजर रि. जुदबहादुर गुरुङले वार्ताबारे संक्षिप्त ‘अपडेट’ दिएका थिए ।

कार्यक्रममा बेजिङस्टोक नेपलिज कम्युनिटी सिनियर सिटिजनसीपका संयोजक टेक कुलुङ राईले स्वागत मन्तव्य व्यक्त गर्दै लन्डनदेखि आएर भूतपूर्व गोर्खाहरुलाई निशुल्क कानूनी परामर्श दिएकामा एभरेष्ट ल प्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रम सञ्चालन गर्दै संयोजक एवं आयोजक समितिका उत्तर सुन्दासले अन्तरक्रियाबाट भूतपूर्व गोर्खाहरु निकै लाभान्वित भएको बताए । गोर्खा वेलफेयर ट्रष्ट आवद्ध वारेन्ट अफिसर सुन्दासले एभरेष्ट ल फर्मको निस्वार्थ सेवाप्रति आभार समेत व्यक्त गरे ।

बेजिङस्टोक नेपलिज कम्युनिटीका अध्यक्ष विजय लिङ्थेपले सहभागी सबै र निशुल्क कानूनी परामर्श उपलब्ध गराउने एभरेष्ट ल फर्मलाई विशेष धन्यवाद दिए । बेजिङस्टोकमा ५ हजार बढी नेपाली बसोवास गरिरहेको बताउंदै उनले यस खालका कार्यक्रमबाट नेपाली समुदाय प्रत्यक्ष लाभान्वित हुने बताए ।

उक्त कार्यक्रममा सहभागीका विभिन्न जिज्ञासाको सोलिसिटर राजु थापाले सरल र स्पष्ट भाषामा जवाफ दिएका थिए ।

सो अवसरमा एभरेष्ट ल सोलिसिटर्स आवद्ध प्रिसा पाठक, डोरिसा आचार्य, खेमराज जोशी र जोन गुरुङ समेत सहभागी थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू