लन्डनमा शैलेन्द्रले हँसाए, नेपाली समुदायले दियो विशेष सम्मान


लन्डन – हाल बेलायत भ्रमणमा रहेका चर्चित हास्यकलाकार शैलेन्द्र सिम्खडालाई नेपाली समुदायको तर्फबाट भव्य सम्मान गरिएको छ।
बिहीबार बेलुका द ब्लु रुम रेस्टुरेन्टमा आयोजित एक विशेष समारोहमा नेपाली हास्यव्यङ्ग्य साहित्य र कला क्षेत्रमा सिम्खडाले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो।
बीबीसी नेपाली सेवाका पूर्व सम्पादक सुमन खरेल तथा शिक्षाविद् डा भरत सिम्खडाले खादा ओढाएर सिम्खडालाई विशेष सम्मान गरेका थिए।
सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खरेलले गएको साढे चार दशकदेखि निरन्तर स्ट्यान्ड अप कमेडीद्वारा नेपाली दर्शकलाई हँसाउँदै आएका सिम्खडाले नेपालको हास्य व्यंग्य क्षेत्रको विकासमा ठूलो योगदान पुराएको बताए।
उनले २०३७ सालदेखि नै गाइजात्रामा निरन्तररुपमा भाग लिंदै आएका सिम्खडाले समाजका विकृति विसंगतिहरु माथि कडा प्रहार गर्ने मात्रै हैन, रचनात्मक र सुधारका लागि पनि आवाज उठाउने गरेको बताए।
शिक्षाविद् डा भरत सिम्खडाले शैलेन्द्र नातामा आफ्नो काका पर्ने र आफुहरु काठमाडौँमा संगै कलेज पढ्ने गरेको बताए। उनमा सानै उमेरदेखि नै हास्य चेत रहेको बताउँदै उनले निरन्तर हास्य व्यंग्य क्षेत्रमै प्रस्तुति दिएर शैलेन्द्र सिम्खडाले नयाँ पुस्तालाई पनि प्रोत्साहित गरेको जनाए।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार शैलेन्द्र सिम्खडाले आफ्ना हास्यव्यङ्ग्य प्रस्तुति र ठट्यौलीमार्फत सहभागीलाई मनोरञ्जन गराएका थिए। संकल्प, आगो, देवासुर संग्राम जस्ता आफ्ना लोकप्रिय प्रस्तुतिसहित उनले पंचायतकालदेखि बालेन्द्र शाह ‘बालेन’ ले नेतृत्व गरेको वर्तमान सरकारका कमीकमजोरी माथि पनि चोटिलो व्यंग्य गरेका थिए।
“संसारमा नेपाल एउटा अचम्मको ठाउँछ
पानी बाँडन गा’को केटो मन्त्री भएर आउँछ।
हिमाल टम्म छ, पहाड लटरम्म छ, तराईसम्म छ
हेर्दा नेपाल राम्रो छ, भित्र अचम्म छ। ”
उनले प्रवासमा बसेर पनि नेपाललाई गाह्रो साह्रो पर्दा मन खोलेर सघाउने सबै प्रवासी नेपालीहरुलाई हृदय देखि नै धन्यवाद दिए।
बिनोद सिम्खडाले संचालन गरेको कार्यक्रममा कृष्ण भट्ट, बसु लामिछाने, अजिता सिम्खडा लगायतले कविता वाचन गरेका थिए भने विभिन्न कलाकारले रोचक नृत्य प्रस्तुत गरेका थिए।
सिम्खडा हास्यकलाकार मात्र नभई स्थापित कवि, साहित्यकार तथा रङ्गकर्मीसमेत हुन्। उनको व्यङ्ग्य कवितासङ्ग्रह ‘कालो अक्षता’ प्रकाशित छ भने ‘ब्रह्मास्त्र’, ‘सुकुम्वासी’, ‘एक्सरे’, ‘प्रजातन्त्रको पास्नी’, ‘ग्राण्ड डिजाइन’, ‘नाइटभिजन’ र ‘सिंहदरबारको गेट’ जस्ता सिर्जनामार्फत उनले नेपाली व्यङ्ग्य साहित्य र श्रव्य प्रस्तुतिमा योगदान पुर्याएका छन्।
राष्ट्रिय कविता महोत्सवमा विजयी भै सकेका सिम्खडाले भैरव प्रतिभा पुरस्कारलगायत विभिन्न सम्मान प्राप्त गरेका छन् भने उनले २०८१ सालमा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’का लागि समेत छनोट गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



