पुरस्कार स्थापना गर्दै मतिना फाउण्डेसन यूकेको सातौं लुमन्ती कार्यक्रम सम्पन्न


लन्डन । नेपालभाषा र नेवा संस्कृति संरक्षण एवं प्रवद्र्धनमा तल्लिन संस्था मतिना फाउण्डेसन यूकेको सातौं लुमन्ती कार्यक्रम हालै सम्पन्न भएको छ ।
महान नेवा व्यक्तित्वहरुको स्मरणमा गरिने यो कार्यक्रम यसपाली श्रद्धेय जनकवि दुर्गालाल श्रेष्ठमा समर्पित थियो ।
नेपालभाषाका ज्ञाता अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गेल्नरको मुख्य आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सभापति रचना श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सन् २०२८ देखि प्रत्येक वर्ष, वर्ष दिनभित्र प्रकाशित नेपाल भाषाको उत्कृष्ट एक कृतिलाई नेपाली रुपियाँ १ लाखको जीवनराजलक्ष्मी प्रदान गरिने पुरस्कार स्थापना गरिएको घोषणा गरिन् ।
उक्त कार्यक्रममा प्राध्यापक गेल्नर, डा. धर्म भक्त शाक्य, डा. सचेतन तुलाधर, सुरेन्द्र स्थापित, संयुक्त श्रेष्ठ र अमृता श्रेष्ठले विभिन्न विषयमा मन्तव्य दिएका थिए भने कलाकारहरु अन्जु श्रेष्ठ, प्रमोद शर्मा र भुपेन्द्रमान शाक्यले नेपाल भाषाका गीतहरु गाएर कार्यक्रम थप रोमाञ्चक बनाए ।

त्यस्तै बाल कलाकारहरु मतिना महर्जन र भिन्तुना महर्जनले नेवा नृत्य प्रस्तुत गरे भने नोभा श्रेष्ठले नेपालभाषाको गीत गाएकी थिइन्।
साहित्यतिर भने मारिलेना फ्रिसोलले दुर्गा लाल श्रेष्ठको कविता वाचन तथा पब्लिका श्रेष्ठ महर्जनले दुर्गालाल श्रेष्ठको वाल कविता र आफ्नो कविता वाचन गरेका थिए ।
कार्यक्रममा दिदी बहिनी ओजस्वी बज्राचार्य र अभिता बज्राचार्यले नेपाल भाषा धें धें बल्ला कासा र रुक्मणी मानन्धरले नेपाल भाषा क्वा कासा सञ्चालन गरेका थिए । नेपाल भाषा धें धें बल्ला कासामा प्रवीण महर्जन, लाल शाक्य र नानी शोभा शाक्य क्रमशः प्रथम, द्वितिय र तृतीय भए ।
निलिमा श्रेष्ठले सञ्चालन गरेको उक्त नेपाल भाषा कार्यक्रम रेणु अधिकारी श्रेष्ठको धन्यवाद अभिव्यक्तिसहित सम्पन्न भएको थियो ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


