बुधबार, ८ जुलाइ, २०२६
13:06 | १७:५१

इष्ट सोलारको आईपीओ व्यवस्थापनका लागि नेशनल क्यापिटलसंग सम्झौता

नेपाली लिङ्क जुलाइ ८, २०२६

काठमाडौं- बेलायतस्थित नेपाली व्यवसायीहरूले लगानी एवं प्रवर्द्धन गरेको इष्ट सोलार लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारीसम्बन्धी व्यवस्थापनका लागि नेशनल क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

बुधबार लाजिम्पाटस्थित नेशनल क्यापिटलको कार्यालयम इष्ट सोलारका अध्यक्ष मोहन गुरुङ र नेशनल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पण खनालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

झापाको बैगुनधुरामा निर्माणाधीन ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि कम्पनीले आईपीओ व्यवस्थापनको जिम्मेवारी नेशनल क्यापिटललाई दिएको हो।

कम्पनीका कार्यकारी निर्देशक एलएन पाण्डेका अनुसार आगामी आश्विन महिनादेखि सौर्य ऊर्जाको व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। सोही अवधिमा आईपीओ निष्कासन गर्ने तयारी पनि गरिएको पाण्डेले बताए।

कम्पनीकै स्वामित्वमा रहेको जग्गामा निर्माण भइरहेको उक्त सौर्य आयोजनाको कुल चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

बेलायतस्थित नेपाली उद्यमीहरूको लगानी र प्रवर्द्धनमा स्थापना भएको इष्ट सोलार लिमिटेडले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्दै स्वच्छ ऊर्जा उत्पादनमार्फत देशको ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने लक्ष्य लिइएको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू