गगनसिंह थापाको दशौँ कृति ‘हिउँ फूल’को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको दशौँ साहित्यिक कृति **‘हिउँ फूल’** को आवरण सार्वजनिक गरिएको छ।
भदौ ५ गते परेको थापाको जन्मदिनका अवसरमा परिवारले उनलाई श्रद्धापूर्वक स्मरण गर्दै प्रकाशनको तयारीमा रहेको ‘हिउँ फूल’को आवरण सार्वजनिक गरेको हो।
अछामको पाटेखेतमा जन्मिएका थापाले कर्णाली र सुदूरपश्चिमको इतिहास, भाषा, साहित्य, संस्कृति तथा जनजीवनलाई आफ्ना सिर्जनामार्फत जीवन्त बनाउँदै आएका थिए। शिक्षक, समाजसेवी तथा साहित्यकारका रूपमा परिचित थापा सामाजिक तथा पर्यावरण संरक्षणका अभियन्ता एवं लोकतान्त्रिक आन्दोलनका संवाहकसमेत थिए।
समाज र साहित्यका क्षेत्रमा स्वर्गीय थापाले पुर्याएको योगदान सदैव स्मरणीय रहने उनका छोरा हिक्मत थापाले बताए। उनका साहित्यिक कृतिहरूले कर्णाली र सुदूरपश्चिमको भाषा, संस्कृति, इतिहास र जनजीवनलाई पुस्तौँसम्म उजागर गरिरहने विश्वास उनले व्यक्त गरे।
थापाका प्रकाशित कृतिहरूमा आफ्नो माटो, भाषा, संस्कृति र जनजीवनप्रतिको गहिरो प्रेम अभिव्यक्त भएको पाइन्छ। उनका कृतिहरू साहित्यिक दृष्टिले महत्वपूर्ण हुनुका साथै कर्णाली र सुदूरपश्चिमको सामाजिक तथा सांस्कृतिक पहिचानलाई अभिलेखित गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहेको जनाइएको छ।
थापाका यसअघि सोह्र सौगात’, ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट्ठी’, ‘मेरो मधुशाला’, ‘उज्ज्वली’, ‘मरुभूमिकी महारानी’, ‘अस्ताचलको ढोकाबाट’, ‘मेरो गाउँको खडक्या मन्त्री’ र ‘महाप्रलय’ गरी नौ वटा पुस्तक प्रकाशित भइसकेका छन्।
प्रकाशनको तयारीमा रहेको ‘हिउँ फूल’ थापाको दशौँ साहित्यिक कृति हो। उक्त कृति छिट्टै पाठकमाझ ल्याउने तयारी भइरहेको जनाइएको छ।
७८औँ जन्मजयन्तीको अवसरमा स्वर्गीय गगनसिंह थापाप्रति श्रद्धासुमन अर्पण गर्दै उनका साहित्यिक योगदान, कृति र सिर्जनाहरू सधैँ स्मरणीय तथा अमर रहने विश्वास व्यक्त गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


