नेपालमा सम्मानजनक बुढ्यौली जीवन सुनिश्चित गर्न संयुक्त पहलमा जोड


काठमाडौँ । तीव्र गतिमा भइरहेको युवाहरूको विदेश स्थानान्तरण तथा देशमा घट्दो जनसङ्ख्याका कारण ज्येष्ठ नागरिकहरूको जीवनयापन सहज बनाउन र सम्मानित बुढ्यौली सुनिश्चित गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजले मिलेर काम गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके र नेपालमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरण नेपालले शनिबार आयोजना गरेको “नेपालमा सम्मानित बुढ्यौली सिर्जनामा रहेका चुनौती, अवसर र डायस्पोराको भूमिका” विषयक वेबिनारका सहभागीहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्यको आवश्यकतामाथि जोड दिए । उनले वर्तमान जनसांख्यिकीय प्रवृत्ति र युवाहरूको बसाइँसराइलाई दृष्टिगत गर्दा बुढ्यौलीको विषय महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संस्थागतरुपमा आफ्नो ज्ञान श्रृंखलामार्फत यस विषयलाई प्राथमिकतामा राख्ने र यस क्षेत्रमा काम गर्ने जानकारी दिए।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले प्रायः उपेक्षित रहँदै आएको यस विषयलाई उठान गरेकोमा एनआरएनए एनसीसी यूकेलाई धन्यवाद दिए । उनले यस विषयलाई अझ ठूला मञ्चहरूमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न गैरआवासीय नेपालीहरू निरन्तर प्रतिबद्ध रहने बताए ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए यूके नेपालमा सम्मानित बुढ्यौली प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस कार्यमा सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले बेलायत र विश्वभर रहेका नेपालीहरू स्याहार केन्द्रहरूमा ज्येष्ठ नागरिकहरूको हेरचाह गर्ने विषयमा रहेको नकारात्मक धारणा हटाउन र नेपालमा रहेका ज्येष्ठ नागरिकहरूका लागि उचित अवसर सिर्जना गर्न रोल मोडल बन्न सक्ने बताए । विभिन्न परोपकारी काममार्फत नेपाल र नेपालीको सेवा गरिरहेको भन्दै उनले एनआरएनए यूके ज्येष्ठ नागरिकको सहयोगका लागि सधैँ तत्पर रहेको जनाए ।
पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले देशको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक रहेको र जनसङ्ख्या वृद्धि दर घट्दो क्रममा जाँदा आगामी दिनमा बुढ्यौली व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । “बुढ्यौली व्यवस्थापनप्रति समाजमा रहेको नकारात्मक धारणाले गर्दा ज्येष्ठ नागरिकहरू स्याहार केन्द्रमा गएर सेवा लिन हिच्किचाउने, घरमा युवाहरू नभएको तथा ज्येष्ठ नागरिकहरूका लागि सुविधासम्पन्न पूर्वाधार अभावले गर्दा ज्येष्ठ नागरिकहरूले साधन र स्रोत भए पनि दुःख पाइरहनु भएको छ,” वैद्यले पुस्तान्तरण नेपालले आयोजना गरेका स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरहरूमा ज्येष्ठ नागरिक र उनीहरूका परिवारका सदस्यहरूसँग गरेको कुराकानीका आधारमा बताए ।
उनले पुस्तान्तरण नेपालले नेपालका ज्येष्ठ नागरिकहरूलाई सम्मानित वातावरण बनाउन जनचेतना जगाउनुका साथै ज्येष्ठ नागरिकहरूलाई आवश्यक सेवा प्रदान गरिरहेको जनाए । गैरआवासीय नेपालीहरूले ज्येष्ठ नागरिक हेरचाहमा भएका विश्वका उत्कृष्ट अभ्यासहरूलाई नेपालमा आत्मसात गर्न सहयोग गरेर सम्मानित बुढ्यौली सुनिश्चित गर्न सहयोग गर्न सक्ने वैद्यको आग्रह थियो ।

ज्येष्ठ नागरिकसम्बन्धी चिकित्सक डा. बिन्दु पाण्डेले अहिले अस्पतालमा धेरै ज्येष्ठ नागरिकहरू एक्लै आउने गरेको रघरमा परिवारका सदस्यहरूको अभावमा उनीहरूमा चिन्ता थपिएको भन्दै उनीहरूलाई उपचारसँगै मनोसामाजिक परामर्श समेत आवश्यक भएको बताइन् । ज्येष्ठ नागरिकहरूका लागि उनीहरूको कुरा आदानप्रदान र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने मञ्चहरू विकास गर्नुपर्ने डा. पाण्डेको धारणा थियो ।
“बुढेसकालमा विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भएकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण रउहाँहरूलाई औषधि दिँदा विशेष ध्यान दिनुपर्दछ किनकि विभिन्न स्वास्थ्य शिविरहरूमा आउनुभएका बुबा–आमाहरूले विभिन्न औषधि आवश्यकताभन्दा बढी प्रयोग गरिरहेको पाइएका थिए,” उनले थपिन् ।
कार्यक्रममा लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्वस्थ खाना र जीवनशैलीका बारेमा प्रशिक्षण दिँदै आएकी वेलनेस प्रशिक्षक शारदा ज्ञवालीले नेपाली खाना उत्कृष्ट भएको बताउँदै ज्येष्ठ नागरिकहरूलाई विदेशी खानाको सट्टा नेपाली खाना उनीहरूको आवश्यकताअनुसार मिलाएर खान दिएमा धेरै फाइदा हुने बताइन् । उनले नेपाली भान्सामा प्रयोग गरिने मरमसलाको महत्व सबैलाई बुझाउनुपर्नेमा जोड दिइन्।
नेपाल सोसाइटी अफ जेरन्टोलोजी एण्ड जेरियाट्रिक्सका अध्यक्ष तथा नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा. जगदीश क्षेत्रीले ज्येष्ठ नागरिक मन्त्रालय हटाउने नयाँ सरकारको काम उचित नभएको भन्दै ज्येष्ठ नागरिकमन्त्रालय कायमै राखिनु पर्ने जनाए। उनले चीनमा सजैकसुरक्षा कोष अन्तर्गत ’रिटायरमेन्ट सेक्युरिटी’ भनेर छुट्टै प्रावधान रखिएको भन्दै नेपालमा पनि त्यस्तै कोष खडा गर्नुपर्ने जनाए । उनले नेपालमा ज्येष्ठ नागरिकहरु सम्बन्धी डेटाको अभाव रहेको भन्दै त्यस्तो सर्वेक्षण गर्न एनआरएनएले सघाउन सक्ने सुझाव दिए ।
एनआरएनए यूकेका उपाध्यक्ष उज्ज्वल कार्कीले सबै प्यानलिस्ट तथा सहभागीहरुलाई धन्यवाद दिंदै पाका पुस्ताको सेवा र सम्मानका लागि एनआरएनहरुले सहकार्य गर्नुपर्ने जनाए ।
पत्रकार भगीरथ योगीले सहजीकरण गरेको कार्यक्रमका सहभागीहरूले ज्येष्ठ नागरिकको हितको लागि सरकार, निजीक्षेत्र र नागरिक समाज मिलेर काम गर्नुपर्ने र यसमा गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


