बुधबार, ८ अप्रिल, २०२६
19:53 | ००:३८

पक्राउ पूर्जी जारी भएपछि देउवाले तोडे मौनता

रासस अप्रिल ८, २०२६

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटो प्रचारबाजी भएको जानकारी गराएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गर्दै नेपालको कानुनअनुसार आफूहरूले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराएका छन् ।

“देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अङ्गहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिङ्गो जीवन सङ्घर्षमै व्यथित गरेको हुँ”, उनले उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको बताएका छन् ।

“स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु”, उनले उल्लेख गरेका छन्, “वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू