सोमबार, ३० मार्च, २०२६
14:04 | १८:४९

नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामा जोड

नेपाली लिङ्क मार्च ३०, २०२६
लन्डन । नेपाल पत्रकार महासंघले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सबै पक्षको ध्यानाकर्षण गराएको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माद्वारा जारी शुभकामना मन्तव्यमा महासंघले स्थापनाकालदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हकहित तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।
मन्तव्यमा बदलिँदो सूचना प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै मिथ्या सूचना प्रवाह बढ्दो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको औँल्याइएको छ। यस्तो परिवेशमा पत्रकार र पत्रकारिता क्षेत्रले आफ्नो पेसागत मर्यादा, सामाजिक उत्तरदायित्व र विश्वसनीयता कायम राख्नुपर्ने महासंघको भनाइ छ।
महासंघले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक परिस्थितिमा सञ्चारसम्बन्धी कानुन र आवश्यक नीतिहरू पत्रकारमैत्री बन्नुपर्ने धारणा राखेको छ। साथै, समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका वा दुर्घटनामा परेका पत्रकारका परिवारलाई क्षतिपूर्ति र मनोबल बढाउने व्यवस्था आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
शुभकामना सन्देशमा पत्रकारको भौतिक तथा पेसागत सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय थप बलियो बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि सङ्कुचन र नियन्त्रणको प्रयासविरुद्ध सशक्त प्रतिवाद गर्ने पनि जनाएको छ।
अन्त्यमा, महासंघले स्थापना दिवसको अवसरमा फेरि एकपटक सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै जनतालाई सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताएको छ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू