एनआरएनएमा गुटबन्दीभन्दा माथि उठेर पारदर्शी र जिम्मेवार नेतृत्व चयन गर्नुपर्नेमा जोड



काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन यही फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
संस्थाभित्र पछिल्लो समय देखिएको आन्तरिक कलह, नेतृत्वको खिचातानी र वैधानिक विवादका बीच हुन लागेको यस महाधिवेशनलाई ‘एकता र शुद्धीकरण’ को महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट अभियन्ताहरू काठमाडौं आइपुग्ने क्रम जारी छ। उनीहरूले संस्थाको खस्कँदो साख जोगाउन गुटबन्दीभन्दा माथि उठेर पारदर्शी, प्रभावकारी र जिम्मेवार नेतृत्व चयन गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
बेलायतबाट आएका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले संस्थाभित्रको विवाद अन्त्य गर्न बृहत् एकता अधिवेशनको विकल्प नभएको बताए। विदेशमा रहेका नेपालीहरूलाई ‘सयौँ थुँगा फूलका माला’ झैँ एकताबद्ध गराउनुपर्ने र राजनीतिक हस्तक्षेप तथा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर संस्थामा ‘सार्वजनिक अडिट’ को संस्कार बसाल्नुपर्ने माग गरे।
चेक रिपब्लिकबाट आएका अभियन्ता चिरन्जिवी खड्काले आगामी दिनमा डेलिगेट प्रणालीलाई खारेज गरी सबै पञ्जीकृत सदस्यहरूले प्रत्यक्ष मतदानमार्फत नेतृत्व छनोट गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखे ।
अष्ट्रेलियाबाट आएका प्रतिनिधि तथा सन् २०२५–२७ को कार्यकालका लागि युवा उपाध्यक्ष पदका उम्मेदवार मदन राज पौडेलले यो महाधिवेशनले युवा, महिला लगायत दोश्रो पुस्तालाई नेपालसंग जोड्न स्पष्ट कार्ययोजना ल्याउनु पर्ने जनाए ।
‘अब युवा पुस्तालाई अगाडी नबढाए एनआरएनए अभियान अगाडी बढ्न सक्दैन’, उनले भने ।
नेतृत्व चयनको रस्साकस्सीका बीच उपाध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईले प्रवासमा रहेका महिला, श्रमिक र विशेष गरी दोस्रो पुस्ताका नेपाली युवाहरूलाई नेपालको समृद्धिमा जोड्ने एजेन्डा अघि सारेकी छिन्। उनले वंशजको नागरिकताको निरन्तरता र प्रवासी नेपालीको हकहितका लागि संस्थाको शुद्धीकरण आवश्यक रहेको बताइन्।
निर्वाचन समितिले मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार प्रकाशित गरेको छ । अध्यक्ष पदका लागि डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) बीच प्रतिष्पर्धा हुने भएको छ । रोविनप्रसाद शेरचन (जापान) ले शर्मालाई सघाउने भन्दै अध्यक्षबाट ब्याक भएर उपाध्यक्षमा नाम दर्ता गराएका छन् ।
त्यस्तै, महासचिवका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन् ।
६ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष आकांक्षीहरूमा ददीबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोविनप्रसाद शेरचन, रोजिना प्रधान राई र रोशन थापा छन्।
महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । कोषाध्यक्षमा समेत बेलायतका कृष्णप्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भएका छन् ।
युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमन गौचनबीच प्रतिस्पर्धा हुने भएको छ ।
उम्मेदवारहरुको अन्तिम नामावली-





