शनिबार, ७ मार्च, २०२६
05:54 | ११:३९

चितवनबाट रवि विजयी, झापामा ओलीलाई भारी मतान्तरले पछि पार्दै बालेनको अग्रता

नेपाली लिङ्क मार्च ७, २०२६

चितवन- चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ ।

उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले) का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए।

लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी थिए।

उता, झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राख्नुभएको छ ।

रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाल) अध्यक्षसमेत रहनुभएका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गर्नुभयो ।

अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ ।

झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।

यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि पर्नुभएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू