भ्यालेन्टाइन्स डेमा पोखरामा सुगम पोखरेलको लाइभ कन्सर्ट



गायक सुगम पोखरेल
काठमाडौं–नेपालका चर्चित पप गायक तथा गीतकार सुगम पोखरेल यस भ्यालेन्टाइन्स डेमा लाइभ कन्सर्ट गर्न पोखरा पुग्दै छन्। उनी प्रदर्शन गर्ने मञ्चको नाम ‘मेरो एउटा साथी छ’ राखिएको छ, जुन उनका त्यही चर्चित गीतबाट प्रेरित हो।
आफ्नो ब्यान्ड बाजागाजासँगै सुगमले पोखराका संगीतप्रेमीहरूलाई अविस्मरणीय साँझ दिने तयारी गर्दैछन्।
सुगम नेपाली पप संगीतमा तीन दशकभन्दा लामो समयदेखि अग्रणी कलाकार मानिन्छन्। आफ्नो भावपूर्ण स्वर र हृदयस्पर्शी गीतका कारण उनी भिन्न पुस्ताका संगीतप्रेमीहरू माझ लोकप्रिय छन्।
उनका हिट गीतहरू जस्तै ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झिन चाहन्न’, र ‘मेरो एउटा साथी छ’ संगीतप्रेमीहरूका लागि सर्वप्रिय छन्।
कार्यक्रममा सुगमसँगै चर्चित गायक कमल खत्री पनि हुनेछन्। कमलले आफ्ना लोकप्रिय प्रेम गीतमार्फत वातावरण तताएर सुगमको प्रस्तुतीको तयारी गर्नेछन्।
कार्यक्रममा उनले ‘आत्मा मा’, ‘कोरेर प्रेमपत्र’, ‘सातौं जन्म होइन’, र ‘पर्खिरहेको रहेछ मुटु’ जस्ता गीतहरू प्रस्तुत गर्नेछन्।

मेन मिडिया र एसटी क्रिएशनद्वारा आयोजना हुन गइरहेको यो कार्यक्रम ‘हरेक प्रेमिल मनका लागि’ भन्ने नारासहित १४ फेब्रुअरीमा पोखराको लेभल्स क्लबमा हुने छ।
मेन मिडियाका प्रबन्ध निर्देशक सुन्दर बस्यालले भने, ‘कमल खत्रीले वातावरण तताउनेछन् र त्यसपछि सुगमले दर्शकहरूलाई अविस्मरणीय सङ्गीत यात्रामा लैजानेछन्।’
एसटी क्रिएशनका प्रबन्ध निर्देशक सुरज थापाले भने, ‘हामी यो कन्सर्ट हरेक उमेरका दर्शकलाई मित्रता, प्रेम र एकताको प्रतीक झल्काउने गीतहरूमार्फत एकै ठाउँमा ल्याउने उद्देश्यले आयोजना गर्दैछौं। दर्शकहरूले साँच्चिकै प्रेम र सङ्गीतको सम्बन्ध महसुस गर्नेछन्।’
कार्यक्रम संचालन लोकप्रिय मिडिया पर्सनालिटी तथा स्टेज होस्ट संजोक बस्यालले गर्नेछन्। जादुइ आवाज र ऊर्जावान स्टेज उपस्थितिका लागि परिचित बस्यालले स्थानीय दर्शकका लागि यस साँझलाई अझ विशेष बनाउनेछन्।
‘मेरो जन्मस्थान पोखरामा यो विशेष भ्यालेन्टाइन्स डे कन्सर्ट सञ्चालन गर्न पाउँदा म रोमाञ्चित छु’, बस्यालले भने- ‘सुगम पोखरेल र कमल खत्री लाइभ कन्सर्ट दिँदै गर्दा यो साँझ संगीत, प्रेम र उत्सवले भरिपूर्ण र अविस्मरणीय बन्नेछ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


