बुधबार, १४ जनवरी, २०२६
12:27 | १८:१२

गगन र विश्वप्रकाश कांग्रेस संस्थापनबाट निस्कासन

नेपाली लिङ्क जनवरी १४, २०२६


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ।

भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तीनै जनालाई कारबाही गरिएको प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘नेपाली कांग्रेसको विधान २०१७ धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ देहायको खण्ड घ र ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको छ।’

महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि सुरु विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी छ।

विशेष महाधिवेशनका कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ।

विशेष महाधिवेशन पक्ष नयाँ नेतृत्व चयनको प्रक्रियामा गएपछि संस्थापन पक्षले कारबाही गरेको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू