गगन थापाको उद्घोष- महाधिवेशनले नेता छान्छ, नेता पनि बदल्छ



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले नेता बदल्न सक्ने बताएका छन्।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा सबैभन्दा शक्तिशाली महाधिवेशन भएको बताए।
‘कांग्रेसको विधानले भन्छ- महाधिवेशनभन्दा ठूलो केही छैन,’ थापाले भने, ‘महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि।’
उनले महाधिवेशनसँग विधानसमेत बदल्ने क्षमता रहेको उल्लेख गरे। ‘महाधिवेशनले नीति बदल्छ, विधान पनि बदल्छ,’ थापाले भने।
विशेष महाधिवेशनले के गर्छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ थियो। कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको भए विशेष महाधिवेशनका एजेन्डा पहिले नै स्पष्ट हुने भए पनि प्रतिनिधिले आयोजना गरेको भएकाले हलभित्रै एजेन्डा तय हुने उनले बताए।
‘कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन। तपाईहरूले माग्नु भएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने। मैले मागेको होइन, तपाईहरूले मागेको हो,’ उनले भने, ‘हाउसले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ।’
थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको बताए।
थापाले भने, ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो-बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्। र आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो।’
उनले अगाडि भने, ‘त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थियो? हामी थियौं। उनीहरू संसदसँग रिसाएका थिए। त्यो संसदमा को थिए? हामी थियौँ। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’
आफूहरूले विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होउन् भन्ने चाहेको महामन्त्री थापाले उल्लेख गरे।
उनले विशेष महाधिवेशनमा उपस्थिति प्रतिनिधिहरुले नै भोट हालेर सभापति शेरबहादुर देउवालाई छानेको बताए।
‘लामो समयदेखि पार्टी भित्र पार्टी सञ्चालनको तरिका आजबाट भत्कियो। भोलि जो सुकै आओस् पार्टी सदस्यलाई हेप्न सक्दैन। तल बस्ने सदस्यले निहुरिएर सलाम गर्नुपर्छ। तलबाट माथि होइन। यो पटक माथिले गरेको होइन। तलले गरेको हो। तल बस्ने साथीहरुलाई पनि गाउँका साथीहरुले पठाउनुभएको हो। पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको छ।’
महामन्त्री थापाले भने, ‘म बिपीको छोरा होइन, म गणेशमानको छोरा पनि होइन। मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन। तर मसँग बिपीको विचार र गणेशमानको साहस छ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



