१२ दिनमै टुङ्गियो रास्वपा-उनेपा सहमति, अलिखित सम्झौता धेरै भएको खुलासा



काठमाडौँ, पुस २६ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग लिखितभन्दा धेरै अलिखित भद्र सहमति भएको बताएका छन्।
रास्वपासँगको सहकार्य तोडेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेपछि शनिबार साँझ आायोजित पत्रकार सम्मेलनमा उनले आफूले ठूला पदमा बार्गेनिङ गरेको भन्ने कुरा पनि गलत भएको बताए।
‘१४ गते एउटा भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमति पनि धेरै थिए,’ घिसिङले भने, ‘यो एकीकरण प्रक्रियालाई कसरी कार्यान्वयन गर्ने भन्ने धेरै अलिखित सहमति थिए। त्यो सहमतिमा हाम्रो कुनै ठूलो किसिमको माग पनि थिएन। यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउ भन्ने हाम्रो माग थियो।’
‘मैले यो सहमतिको चरणमा र हाम्रो साथीहरुले त्यस्तो कुनै ठूलो डिमान्ड राखेको पनि थिएन। अहिले जुन किसिमले बाहिर मिडियामा धेरै कुरा आएको छ। हामीले पदको धेरै बार्गेनिङ गरिम्। हामीले ठूला ठूला विषयमा धेरै बार्गेनिङ गरिम् भन्ने सरासर गलत हो।’
‘मैले अन्तिम चरणमा आज सहमतिका लागि एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने, ‘म रास्वपाको एउटा साधरण सदस्य भएर बस्छु। हाम्रा केन्द्रीय समितिका केही साथीहरुलाई एडजस्ट गर्नुपर्छ। त्यसरी अगाडि बढौँ पनि भनेको थिएँ। यो विषयमा हाम्रो ठूलो विषय पनि थिएन।’
‘बास्तवमा त्यो १२ दिन हामीलाई धेरै पीडादायी भयो,’ घिसिङले भने, ‘उज्यालो नेपालको समर्थकहरुले धेरै नै पीडा भोगेको छ।’
‘यो बीचमा हामीलाई पूरै इन्गेज बनाएर राखियो। रास्वपाले ठाउँ ठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो। उज्यालो नेपालका साथीहरुलाई पार्टी प्रवेश गर्न आह्वान गर्नुभयो। यो प्रक्रियामा हामीलाई इन्गेज गर्दै उहाँहरुले धेरै कुरा गर्नुभयो,’ उनले थपे।
व्यक्तिगत रुपमा पनि १२ दिन आफ्ना लागि निकै अप्ठ्यारो समय रहेको घिसिङले बताए। ‘यो १२ दिन मेरा लागि धेरै अलमलको अवस्था भयो,’ उनले भने, ‘अगाडि बढौँ भने अगाडि बढ्न नसकिने। पछाडि फर्कौ भने उहाँहरुले फर्कन नदिने।’
समावेशिता, संघीयता जस्ता कुरामा पुरक सम्झौता गरौँ भन्यौँ, त्यो हुन सकेन
पत्रकार सम्मेलनमा घिसिङले संघीयता, समावेशिता जस्ता विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग पूरक सम्झौता गर्न खोजे पनि त्यो हुन नसकेको बताए।
‘मुख्य विषय केही समावेशिता, संघीयता। संविधानले देखाएका जुन आधारभूत विषयहरूलाई सम्बोधन गर्नलाई एउटा पूरक सम्झौता गरौँ भनेका थियौँ,’ घिसिङले भने, ‘एउटा पूरक सम्झौता गर्ने चरणमा पनि उहाँहरू सहमत हुनु भएको थियो। तर, पछिल्लो चरणमा पूरक सम्झौता पनि हुन सकेन।’
एकता प्रक्रियालाई अगाडि बढाउने क्रममा पनि रास्वपाले धेरै समय लगाएको उनले अरोप लगाए। ‘हाम्रा तमाम साथीहरुले उठाएका विषयहरुमा हामी सहज रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामीले धेरै छलफल गरिम्,’ घिसिङले भने, ‘धेरै छलफलमा यो प्रक्रियालाई उहाँहरुलाई अलि धेरै समय लिनुभयो।’
‘समानुपातिकका विषयमा पनि धेरै लामो समय लिनुभयो। बास्तवमा समानुपातिकमा पनि तपाईंहरु अगाडि बढ्नुहोस् भनेर धेरै कुरा छोडेकै थियौँ,’ उनले थपे।
आफूहरु अन्तिमसम्म पनि सहमतिकै पक्षमा भए पनि रास्वपाले एकतर्फी सहमति भंगको घोषणा गरेको अरोप लगाए।
‘अन्तिम दिनमा आएर उहाँहरूले एकतर्फी रुपमा सहमति भंग भएको घोषणा गरिदिनुभयो,’ उनले भने, ‘हामीले गरेका थिएनौँ। अन्तिम समयसम्म पनि अगाडि बढाउँ, टुंग्याउँ भन्नेमै थियौँ। एकतर्फी रुपमा उहाँहरुले सहमति भंग भएको मलाई जानकारी गराउनु भयो। र, मिडियामा त्यही हिसाबले आयो।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



