बिहीबार, ८ जनवरी, २०२६
18:19 | ००:०४

ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

नेपाली लिङ्क जनवरी ७, २०२६

काठमाडौँ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘कुनै सुविधा पनि नलिई तपाईंले नि:स्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशका निम्ति ठूलो काम गर्न सक्नुहुनेछ। यसका लागि म अहिले नै बधाई दिन चाहन्छु।’

प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद्लाई ‘गैर-दलीय र निष्पक्ष’ बनाउने नीति अघि सारेपछि राजनीतिक रूपमा सक्रिय मानिएका केही मन्त्रीहरूमाथि राजीनामाको दबाब बढेको हो। यही सन्दर्भमा ऊर्जामन्त्री घिसिङको नाम चर्चामा आएको थियो।

कार्कीले हालै मन्त्रीपरिषद्का सदस्यहरूलाई कुनै पनि राजनीतिक दलमा औपचारिक रूपमा आबद्ध भएमा सरकार छोड्न निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि घिसिङमाथि पनि स्पष्ट धारणा सार्वजनिक गर्न दबाब परेको थियो।

ऊर्जामन्त्री घिसिङ पहिले ‘उज्यालो नेपाल पार्टी’सँग जोडिएको र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएको समाचार बाहिरिएपछि राजनीतिक बहस चर्किएको हो।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पद सम्हाल्न लागेका भन्ने चर्चाले सरकारभित्र नै प्रश्न उठेको थियो।

घिसिङले प्रारम्भमा आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको दाबी गर्दै आएका थिए। तर, पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक गतिविधि तथा चुनाव केन्द्रित कार्यक्रमहरूमा उनको सक्रियता देखिएपछि नैतिकताको प्रश्न उठ्दै गएको हो। यसले गर्दा नागरिक समाज र राजनीतिक वृत्तबाट उनको भूमिकाबारे आलोचना सुरु भएको थियो।

गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका घिसिङले राजीनामा बुझाएलगत्तै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू