शनिबार शीर्ष नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री
सञ्चारमन्त्री खरेलले भेटे निवासमै पुगेर तीन शीर्ष नेता



राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन दलका प्रमुख नेताहरूको भेट। फाइल तस्बिर
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेकी हुन्।
निर्वाचनको अन्तिम तयारी र दलहरूबीच थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेको खरेलले जानकारी दिएका छन्।
शनिबार प्रधानमन्त्रीले बोलाएको बैठकका लागि निम्तो दिन र निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र प्रचण्डसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेका थिए।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेकी थिइन्।
तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका थिए।
निर्धारित मितिमै प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिँदै उनले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गरेका थिए।
सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ। तीन ठूला दलका शीर्ष नेताले भेटका क्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ। त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन्। कांग्रेसको तर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो पुनःस्थापना प्राथमिकता हैन भन्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनु पर्छ भनेर चासो देखाउनुभएको छ।’
सर्वपक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भएको बताउँदै खरेलले भने, ‘भेटका क्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषका बीच वार्ता भएको छ।’
वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उनले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



