तीन महिनामा ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौँ । चालु आर्थिक वर्षको शुरुआती तीन महिनामा रू ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आर्थिक वर्षमा सातवटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।
विभागकाअनुसार गत असोजमा मात्र ७५ वटा साना उद्योगमा रु दुई अर्ब चार करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।
हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा रू छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ ।
गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि रु १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।
रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै रु एक अर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो ।
उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा रु २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा रु १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।