अविरल वर्षाले टुट्यो सडक सञ्जाल, हवाई सेवा अवरुद्ध



काठमाडौँ । शुक्रबार रातिदेखि शुरु भएको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।
अविरल वर्षाले कतै पहिरो गएको छ भने कतै बाढीले सडक बगाएको छ। मौसमी प्रतिकूलताका कारण विमानस्थलहरु बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएको छ।
दशैं मनाउन घर गएकाहरू कर्मथलो फर्कने क्रममा बाटोमै अलपत्र परेका छन्।
काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गहरू धेरैजसो अवरुद्ध भएका छन्। कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण लोकमार्ग, कुलेखानी सडक खण्ड, पासाङ ल्हामु सडक खण्ड लगायतका राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन्।
बीपी राजमार्गमा पर्ने रोशी खोलामा गत वर्ष असोजमा आएको बाढीपछि बनाइएका डाइभर्सनहरू धेरैजसो बगाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा निरन्तर ढुंगा खस्ने क्रम जारी छ। अहिले चितवन भएर जाने सबै सवारी साधन चलाउन रोक लगाइएको छ।
यसैबीच रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन्।
भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो। बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ छन्।
उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्यले जानकारी गराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ।
मौसमविद् भन्छन्- आइतबार काठमाडौँ उपत्यका र मधेश उच्च जोखिममा
आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सार्नुपर्ने सुझाव दिएका छन्।
आइतबारको बिहान भारी वर्षा हुने क्रम काभ्रेबाट पूर्वी क्षेत्रतर्फ सर्ने भन्दै उनीहरूले अब त्यता पनि जोखिमबाट बच्ने पूर्वतयारी थाल्नुपर्ने बताएका हुन्।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभिन्न मोडेलका आधारमा गरिएको पूर्वानुमान यथार्थपरक रहेको भन्दै काठमाडौं उपत्यकामा शनिबार राती अति भारी वर्षाको सम्भावना रहेको औंल्याए।
‘तराईको वीरगञ्ज र आसपासको क्षेत्रमा जारी रेड अलर्ट अहिले पनि कायमै छ। काठमाडौं उपत्यकामा रातीदेखि पानी पर्ने प्रणाली अझै सक्रिय हुने अवस्था देखिएको छ’ महानिर्देशक जोशीले भने, ‘अझै संकट टरिसकेको छैन, आज रातभर अति भारी वर्षाको सम्भावना छ। सोमबारसम्म नै सतर्कता कायमै राख्नुपर्छ।’
मधेशको पश्चिमी भागमा अति भारी वर्षा
पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार, पर्साको कालिकामाईदेखि रौटहटको गौरसम्मका अति भारी वर्षा भएको हो।
कालिकामाईदेखि गौरसम्म मौसम पूर्वानुमान महाशाखाका आधा दर्जन वर्षामापन केन्द्र छन्। ती सबै केन्द्रमा एक दिनयता २ सय मिलिमिटर भन्दा बढी पानी परेको हो। २४ घण्टामा २ सय मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ, जुन खतराको तहभन्दा माथि हो।
रौतहटको मधेशपुर स्टेसनमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा भएको छ। रौतहटको गरुडामा २०७ मिलिमिटर वर्षा भएको छ। गौरमा २५४ मिलिमिटर वर्षा भएको छ।
बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ। बीरगञ्जमा २२६ र मुदालीमा २३१ मिलिमिटर पानी परेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५