बिहीबार, ३० अक्टोबर, २०२५
23:22 | ०५:०७

माओवादीले गर्‍यो केन्द्रीय समिति भङ्ग, मंसिरमा विशेष महाधिवेशन

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२५

पार्टी नेताहरुको सम्पत्ति छानविन गर्न आयोग बनाइने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति भङ्ग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

काठमाडौँको प्रज्ञा भवनमा हिजो र आज बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

बैठकले महाधिवेशन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको उक्त पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुने गरी महाधिवेशनको तयारी र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गर्ने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए।

सापकोटाका अनुसार माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ।

बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन सुरु गर्ने निर्णय गरेको भन्दै सापकोटाले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढङ्गले सोच्ने निर्णय गरेको पनि जानकारी दिए।

माओवादीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र गम्भीर संकटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढाउने र विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ।

क्षतिग्रस्त सरकारी संरचनाको सम्बन्धित निकायसँग समन्वय गरी पुनर्निर्माणका लागि पहल गर्ने तथा पार्टीका क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माणका लागि पार्टीका तर्फबाट पहलकदमी लिने माओवादीको निर्णय छ।

मंसिरमा गर्ने महाविधेशनमा जेन-जी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गर्नेबारे पार्टीले गम्भीरतापूर्वक लिएको प्रवक्ता सापकोटाको भनाइ थियो।

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपमा होमिने निर्णय गरेको छ।

जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारण जनतामा असुरक्षा बढेको निष्कर्ष निकाल्दै माओवादीले स्थानीय जनताको जीउधनको सुरक्षाका लागि विभिन्न तहमा जनस्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।

बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो।१० वटा समूहबाट छानिएका प्रतिनिधिले छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए।

त्यसबीचमा अध्यक्षसहित सबै पदाधिकारीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। समूहको प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिले अध्यक्षको प्रतिवेदनमाथि समर्थन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेका फरक मतलाई पनि समेटेर लैजाने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू