बिहीबार, ३० अक्टोबर, २०२५
23:10 | ०४:५५

शिक्षामन्त्री पुन भन्छन्- मलाई सेवा सुविधा क्यै चाहिन्न, मन्त्रालयमै बस्छु

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै बसेर काम गर्ने बताएका छन्।

सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूलाई केही सेवा सुविधा नचाहिने भन्दै क्वार्टर पनि नलिने र मन्त्रालयमै बस्ने बताएका हुन्।

“सेवा सुविधा मलाई क्यै पनि चाइन्न। मन्त्रालयमै बस्ने हो। ओछ्यान लाउने हो,” मन्त्री पुनले भने, “मन्त्रालयभित्र किचन होला। त्यहीँ पकाइखाने, त्यहीँ सुत्ने हो।”

अहिले नै यो यो काम गर्ने भन्ने केही नछुट्याएको र विज्ञको सल्लाहको आधारमा काम गर्ने मन्त्री पुनले बताए।

किताब बेच्दै गरेको मान्छेलाई अपर्झट मन्त्री बनाइदिएको भन्दै मन्त्री पुनले अहिले नै के गर्छस् भनेर नसोध्न पत्रकारहरुलाई आग्रह गरे।

“म शिवजी भगवान भइदिएको भए त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थेँ। अपर्झट यहाँ आएर मन्त्री भैएको छ। अहिले नै यो यो गर्छु भन्ने कुरा नसोध्नुस्।”

उनले गर्नुपर्ने धेरै काम भए पनि आफ्नो प्राथमिकतामा नवप्रवर्तन र अनुसन्धान रहने बताए। त्यस्तै उनले शिक्षा पनि आफूसँग जोडिएकाले यसबारे विज्ञको सल्लाह लिएर मात्रै काम अघि बढाउने बताए।

“म आफू जान्ने भएर यसो गर्छु उसो गर्छु भन्ने होइन। विज्ञहरूसँग सल्लाह लिन्छु राम्रो मान्छेको राम्रो सल्लाह लिएर छिटो कार्यान्वयन गर्नेछु,” उनले भने, “नवप्रर्वतन र अनुसन्धान नै प्राथमिकता हो। यतिले मात्रै होइन। शिक्षा र विज्ञान प्रविधि जोडिएको छ। शिक्षातिर के-के गर्ने भन्ने बताउँदिनँ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू