३६ घण्टादेखि मुग्लिन-नारायणगढ सडक खण्ड बन्द, हजारौँ यात्रु अलपत्र


 
    
    

वैकल्पिक बाटो प्रयोग गर्न अपिल
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन्। आइतबार बिहानैदेखि पहिरो पन्छाउन शुरु गरिए पनि बाटो खुल्ने निश्चित छैन।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: सुरु गरिएको छ। अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन। थप पहिरो नझरे निरन्तर रूपमा काम गर्दा बाधा नभए दिउँसोसम्म सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन्। यात्रा गर्नै पर्ने भए वैकल्पिक बाटो प्रयोग गर्न पनि उनले सुझाएका छन्।
३६ घण्टाभन्दा बढी समयदेखि अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको सिटौलाले जानकारी दिए।
‘अहिले यात्रुहरूका लागि दुई विकल्पमाथि छलफल गरिरहेको छ। पहिलो, यात्रा गर्ने नचाहने यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था गर्ने’ उनले भने, ‘दोस्रो, बाटो खुलेपछि मात्रै यात्रा गर्ने इच्छा राख्ने यात्रुहरूका लागि सोही अनुसारको व्यवस्थापन गर्ने।’
सिटौलाले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने बताए।
सडक विभागका महानिर्देशक, मन्त्री, सचिवहरूसँगको समन्वयमा एउटा ह्वाट्सएप ग्रुप समेत बनाइएको र त्यसमार्फत सडकको अवस्था तथा यात्रुको व्यवस्थापनबारे जानकारी आदानप्रदान भइरहेको सिटौलाले जानकारी दिए। उनले बाटो सहज भएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने बताएका छन्।
यता सडक डिभिजन भरतपुरले सडक अझै अवरुद्ध नै रहेकोले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नु अनुरोध गरेको छ। नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै यात्रा गर्न आग्रह गरिएको हो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
