बिहीबार, ११ सेप्टेम्बर, २०२५
09:34 | १४:१९

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नियमित हुन थाल्यो हवाई उडान

रासस सेप्टेम्बर ११, २०२५


काठमाडौँ,  भदौ  गते ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने । 

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ । 

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।     

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि  नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ । 

‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भएपछि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ  । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू