त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दिउँसोदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
गोठाटार क्षेत्रलगायत आसपासमा फैलिएको आगलागी र असुरक्षित परिस्थितिका कारण हवाई सुरक्षामा जोखिम बढेपछि विमानस्थल सञ्चालन अवरुद्ध भएको हो ।
विमानस्थल बन्दसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान स्थगित भएका छन् ।
आकाशमा रहेका जहाजहरूलाई आपतकालीन अवतरण गराइएपछि बाँकी निर्धारित उडानहरू तत्काल प्रभावले रोकिएका हुन् ।
आकस्मिक परिस्थितिमा यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै विमानस्थल बन्द गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
विमानस्थलको सुरक्षा कडा बनाउन नेपाली सेना परिचालन गरिएको छ । यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने उडान स्थगित भएपछि सयौं यात्रुको यात्रा तालिका प्रभावित भएको छ ।
विमानस्थल कहिले पुनः सञ्चालन हुने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन । सरकारले अवस्था सामान्य भएपछि मात्रै विमानस्थल सञ्चालनमा ल्याइने जनाएको छ ।


