लन्डनवासी साहित्यकार खुपेनको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ माथि वहस



काठमाडौं । बेलायतवासी साहित्यकार खुपेन सुनुवारको कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ कृतिमाथि वहस भएको छ ।
अनामनगरस्थित यूनियन हाउसमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि, गीतकार तथा नाटककार श्रवण मुकारुङ, भाषाविद तथा अध्ययन अनुसन्धानकर्ता डा. लाल रापचा श्याँकारेलु र समालोचक एवं कवयित्री गीता त्रिपाठी वक्ता थिए ।
शनिबार सुनुवार विद्यार्थी समाज, सङ्घीय समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अध्यक्ष मनिसा सुनुवार र कार्यक्रम सञ्चालन महासचिव मुस्कान सुनुवारले गरेकी थिइन्। कार्यक्रममा सागर सुनुवारले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको सुरुवातमा कवि, गीतकार तथा नेपाल सरकारको उपसचिव पदमा कार्यरत अमरदीप सुनुवारले कविता सङ्ग्रहबारे प्रकाश पार्दै कवि खुपेन सुनुवारलाई शुभकामना दिए।
कार्यक्रमा वक्ता श्रवण मुकारुङले कृतिमाथि विचार विमर्श गर्दै प्रवासी मूलबाट अत्यन्तै प्रभावशाली वैश्विक जीवन चेतना र बिम्ब प्रयोग भएको सशक्त कविता सङ्ग्रह प्रकाशनमा आएको बताए। साथै मानवीय संवेदनाको उपल्लो तहबाट बौद्धिक विलास गर्न रुचाउनेहरूका लागि नौलो खुराक भएको समेत जानकारी गराएका थिए।
अर्का वक्ता डा. लाल रापचा श्याँकारेलुले समग्रमा कविता सङ्ग्रह राम्रो भएपनि लेखकले नेपाली समाजको मौलिक विषयवस्तु, बिम्ब र भाषालगायतको प्रयोगमा पनि ध्यान दिनुपर्नेबारे जोड दिए ।
कार्यक्रमका अर्का वक्ता डा. गीता त्रिपाठीले प्रतिकात्मक बिम्बहरूलाई विशिष्ट तवरले प्रयोग गर्नसक्ने युवा लेखकका रूपमा चित्रण गरिन्। साथै लेखकको कृतिमार्फत उनको महिला दृष्टिकोण कस्तो छ भन्नेबारे स्पष्ट हुन नसकेको समेत औँल्याएकी थिइन्।
कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ कविता सङ्ग्रहबाट ‘एक गुमनाम प्रेमिकाको गन्तव्य’ कविता वाचन गरे।
त्यसैगरी कलाकार जेनी सुनुवारले पनि लेखकको कविता सङ्ग्रहबाट ‘अन्तिम मृत्यु’ शिर्षकको कविता वाचन गरेर सुनाएकी थिइन्। लेखकले कविता सङ्ग्रहलाई क्लोजअप, मोन्टाज, ल्यान्डस्केप र पोट्रेट गरी चार खण्डमा विभाजन गरेका छन्। क्लोजअप खण्डमा १६, मोन्टाज खण्डमा १९, ल्यान्डस्केप खण्डमा १७ र पोट्रेट खण्डमा १५ गरी जम्मा ६७ कविता सङ्ग्रहित छन्।
कार्यक्रममा साहित्यकार राजन मुकारुङ, गायक शिव मुखिया, कलाकार इँगिहोपो कोइँच सुनुवार, कवि मिथोच, कवि चन्द्रवीर तुम्बापो, कवि सोझो गाउँले, साहित्यकार तारादेवी सुनुवार, कवि तथा पत्रकार नवीन काजी राई, विशाल नाल्बो, रंगकर्मी विष्णु मोक्तान, गायक राजु तामाङ, संगीतकार ओमोस तामाङ, गायक दशराम सुनुवार, कवि प्रतापसिंह नाछिरिङ लगायतको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५