बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन र पूर्ण सत्रमा १९ प्रतिनिधिमण्डल


काठमाडौँ, जेठ २ गते । आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र सम्पन्न भएको छ ।
दुवै सत्र सम्पन्नपछि शुक्रबार सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समिति संयोजक डा. आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री ओलीले संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीहरूको सामना गरिरहेका बेला यसको महत्व प्रस्तुत गरे । उनले चुनौती सम्बोधन गर्न ‘संवादको शक्ति’ मा पनि जोड दिएका थिए ।
सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नाका साथै कोप–२९ का अध्यक्ष मुख्तार बेबायेभलाई हस्तान्तरण गरे भने परराष्ट्रमन्त्री डा. राणाले स्वागत गरेकी थिइन् ।
यस्तै, कोप २९ को अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयाम र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे प्रकाश पारेका थिए ।
यस्तै, भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले सत्रलाई सम्बोधन गर्दै पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे प्रकाश पारेको प्रेस ब्रिफिङमा मन्त्री डा. राणाले बताइन् ।
जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका गम्भीर प्रभावबारे जोड दिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गरेका थिए ।
विभिन्न मुलुकबाट आएका विशिष्ट नेताहरू, नीति निर्माता, विशेषज्ञ र अन्य सरोकारवालाले सम्बोधन गरी संवादको उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भयो ।
त्यसपछि अन्तरराष्ट्रिय सम्मेलनको ढाँचा पछ्याउँदै पूर्ण सत्र भएको थियो । सत्रमा सहभागी देश, अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरूले संवादको केन्द्रीय विषयमा आफ्ना विचारहरू व्यक्त गरेका थिए ।
सो सत्रको अध्यक्षता मन्त्री डा. राणाले गरेकी थिइन् ।
कुल १९ प्रतिनिधिमण्डल (१३ राष्ट्रिय र ६ क्षेत्रीय र अन्तर्राष्ट्रिय सङ्गठनहरू) ले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्ष प्रकाश पार्दै आफ्ना वक्तव्य दिएका थिए ।
यसमा राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बङ्गलादेश, भूटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका प्रतिनिधि थिए । अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूमा संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, सार्क, बिम्स्टेक, इसिमोड छन् ।
प्रतिनिधिमण्डलहरूले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान पनि गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५