बिहीबार, वैशाख २५, २०८२
09:10 | १३:५५

इंग्लिस फुटबल क्लबको ऐतिहासिक खेलमा स्थानीय नेपाली उत्साहित

नेपाली लिङ्क मे ७, २०२५

लन्डन- बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बस्ती रहेको अल्डरसट शहरस्थित अल्डरसट टाउन फुटबल क्लब यतिबेला एउटा इतिहास रच्ने तयारीमा छ। नेपाली र नेपालसंग समेत विशेष सम्बन्ध बनाएको यो क्लबले रच्न लागेको त्यही इतिहासको एउटा महत्वपूर्ण हिस्सा बन्दैछ स्थानीय नेपाली समुदाय।

सन् १९२६ मा अल्डरसट टाउनका नाममा स्थापित यो क्लब अहिले इंग्लिस फुटबलको पाँचौं तह मानिने नेश्नल लिगमा खेल्ने गरेको छ । र यस्तै ननलिग तहका क्लबहरुबीच प्रतिस्पर्धा गराइने एफए ट्रफी कपको यस वर्षको उपाधिका लागि अल्डरसट टाउन फुटबल क्लबले यही मे ११ तारिख आइतबार विश्व प्रतिष्ठित वेम्बली स्टेडियममा फाइनल खेल्दैछ ।

अल्डरसट टाउन फुटबल क्लब त्यहि क्लब हो जसको आयोजनामा गत वर्ष नेपालको राष्ट्रिय फुटबल टीमले बेलायतमा आएर पहिलोपटक इंग्ल्यान्डको सी टीमसंग ऐतिहासिक फुबटल खेल्ने अवसर पाएको थियो ।

यो क्लबकै संयोजनमा भविष्यमा इंग्ल्यान्डको सी टीमको नेपाल भ्रमणदेखि नेपाली महिला फुटबल टोलीको बेलायत भ्रमणसम्मका योजना पाइपलाइनमा छन् ।

इंग्लिस प्रिमियर लिगदेखि विश्व फुटबलका ठूला-ठूला खेलहरु आयोजना हुने वेम्बली स्टेडियमा अल्डरसटले पहिलोपटक एफए ट्रफी कपको उपाधिका लागि खेल्न लागेको ऐतिहासिक खेल हेर्न सयौं स्थानीय नेपालीहरु वेम्बली जाँदैछन् । त्यसबाहेक यस खेलबारे नेपाली सुमदायमा प्रचारप्रसार गरी सहभागिता बढाउन पनि स्थानीय नेपाली समुदायका अभियन्ताहरु अहिले उत्साहित बनेर लागेका छन्।

यसै क्रममा अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर र क्लबका अध्यक्ष साजिद अहमदलगायतसंग स्थानीय नेपाली समुदायका अभियन्ताहरुले केही साताअघि नै तयारी बैठकसमेत गरेका थिए ।

सो अवसरमा अल्डरसटले खेल्ने ऐतिहासिक खेलमा स्थानीय समुदायको महत्वपूर्ण हिस्साका रुपमा नेपाली समुदायको समेत सहभागितका लागि प्रतिवद्धता जनाइएको एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले नेपालीलिंकलाई जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू