आइतबार, वैशाख २१, २०८२
23:20 | ०४:०५

परराष्ट्रमन्त्री राणाले उद्घाटन गरिन् एनआरएनए एकता महाधिवेशन

नेपाली लिङ्क मे ३, २०२५


काठमाडौं । एनआरएनए एकता महाधिवेशन शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । सोमबारसम्म चल्ने उक्त महाधिवेशनले नयां नेतृत्व चयन गर्दै संघलाई नयाँ स्वरूपमा लैजाने अपेक्षा गरिएको छ । 

सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष डा. शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा शुरु महाधिवेशन उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै संघको एकता महाधिवेशन भएको बताइन् । उनले एकता महाधिवेशनमा जोडिन सबै पक्षलाई आग्रह गरेकी छन् ।

मन्त्री राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरिन् । उनले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएकामा जोड दिइन् । परराष्ट्रमन्त्री राणाले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।

राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने राम्रोसँग जानकारी नहुने भन्दै उनले विदेशमा देखेका र भोगेका विषयलाई नेपालमा आएर परिणाम दिन सकिने धारणा राखिन् । ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरूले सहयोग गरिदिनुस्’, उनले भनिन्, ‘हामी राजनीति गर्नेलाई त्यति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन ।’

परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपाली आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताइन् ।

उनले गैर आवासीय नेपाली(एनआरएनए) को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रूपमा वितरण गर्ने पनि बताएकी छन् । 


कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताए ।

लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दल स्वार्थ समूह बनिरहेको उनको टिप्पणी छ । डा. भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।

नेपालका राजनीतिक दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको उनको भनाइ छ ।

उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी आर्थिक उपार्जन गर्ने माध्यम बनाएको बताए । राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको आरोप छ । अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रले गुणात्मक फड्को मार्न गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस्तै, पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरूको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए । 

कार्यक्रमका सभापति डा. शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अब एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए । 

उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अव युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । 

घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए । 

उनले निर्वाचन विवादरहित बनाउन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू