शनिबार, साउन १२, २०८१
03:05 | ०७:५०

राष्ट्रपतिले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

रासस मे १३, २०२४

राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर सौजन्य- राष्ट्रपतिको कार्यालय

काठमाडौँ, वैशाख ३१ गते । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ ।

त्यसअनुरूप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।

सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा पठाएको छ ।

बैठकमा उपस्थित हुन राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यलाई सचिवालयले यसअघि सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ ।

त्यस कार्यक्रममा सहभागी हुन संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी–व्यावसायी, समाजका लब्धप्रतिष्ठित व्यक्ति र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले सरकारको नीति तथा कार्यक्रम जनजीविकाका सवाल र युवाहरूको विदेश पलायन रोक्ने, ग्रामीण क्षेत्रमा देखिएको विकाससम्बन्धी गुनासा सम्बोधन गर्ने गरी ल्याइनुपर्ने बताए ।

उनले मुलुकमा अब सरकारले केही गर्छ भन्ने भावना बोकेको नीति र कार्यक्रम आउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्छ भने ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रणकुमारी बलम्पाकीले सरकारको नीति तथा कार्यक्रममा युवाहरूको विदेश पलायन रोक्ने र स्वदेशमै रोजगारी सृजना गर्दै कृषि उत्पादनमा जोड दिने खालको आउनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले भनिन्, “हामी सबै विदेशबाट आयातित र विषादी मिसिएका दैनिक उपभोग्य सामान खपत गरिरहेका छौँ । अबका दिनमा स्वदेशी उत्पादनमै निर्भर भई स्वच्छ र स्वस्थ खाना खाने तथा निरोगी बन्ने नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्छ ।’’

नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामाले नीति तथा कार्यक्रम विशेष गरी नेपाली किसान र मजदुरलाई केन्द्रित गरी ल्याउनुपर्ने आवश्यकतामा जोड दिए ।

उनले भने, “देशलाई कृषिमा आत्मनिर्भर तुल्याउने खालको नीति तथा कार्यक्रम हुनुपर्छ । कनिका छरेजस्तो नभई कृषि, पर्यटन, रोजगारी, जलस्रोत र पर्यटन क्षेत्रका लगानी गर्ने सुनिश्चित गरिनुपर्छ । साथै विज्ञान र प्रविधिलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू