सोमबार, वैशाख १७, २०८१
02:23 | ०७:०८

लण्डनमा मृत भेटिएका सन्दीपको अन्त्येष्टि तामाङ परम्परा अनुसार गरिने

तामाङ सोसाइटी यूकेको पहलमा अन्त्येष्टि

नेपाली लिङ्क मार्च ८, २०२४


लन्डन । गत २० जनवरीका दिन लण्डन हेजमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको अन्त्येष्टि यही मार्च २५ तारिख हुने भएको छ । 

तामाङ सोसाइटी यूकेको पहलमा हिलिङडन काउन्सिलद्वारा तामाङ परम्परा अनुसार उनको अन्त्येष्टि गरिने भएको हो  

मृतक तामाङका बुबा बेन कुमार तामाङ र आमा डोलमायाको आग्रहमा सोसाइटीले उनको अन्त्येष्टिका लागि पहल गरेको सोसाइटीका महासचिव मणि तामाङले जानकारी दिए ।

मृतक तामाङको शवलाई हिलिङडन काउन्सिलको बेवारिसे लास व्यवस्थापन गर्ने कम्पनी (कोरोनर वेष्ट अफ लन्डन) लाई जिम्मा लगाइएको थियो । 

सो जानकारी पाएपछि सोसाइटीका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणि तामाङले उक्त कम्पनीलाई अन्त्येष्टि कार्यक्रममा आफ्नो संस्थाले पनि सहभागिता जनाउने भन्दै आफ्नै परम्परा अनुसार अन्त्येष्टि गरिदिन आग्रह गरेका थिए ।

कम्पनीले उनीहरुको आग्रह स्वीकार गरेपछि बीसीसी यूके गुम्बाका लामा गुरुहरुद्वारा अन्त्येष्टि गरिने तामाङ सोसाइटी यूकेले जनाएको छ । 

अन्त्येष्टी कार्यक्रममा सहभागी हुन मार्च २५ तारिख बिहान ९:३० देखि १० बजेसम्म ‘द इष्ट चापल ब्रेकस्पेयर क्रिमाटोरियम रयस्लिपमा उपस्थिति जनाउन सोसाइटीले अनुरोध गरेको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सोसाइटीले गर्दैछ ।

तामाङको शव वेवासिसे अवस्थामा भेटिएपछि प्रहरीले नेपाली दूतावास लन्डनलाई समपर्क गरेको थियो । 

उनका आफन्त तथा परिवारका सदस्यहरु बेलायतमा नभएकाले उनको शव पत्ता लगाउन नेपाली दूतावास लण्डन, तामाङ सोसाइटी यूके, गैर आवासीय नेपाली संघ यूके लगायत संघसंस्थाले पहल गरेका थिए ।

मृतक तामाङ सन् २०२२ मार्च १ तारिखमा ‘स्किल्ड भिसा’मा बेलायत आएका थिए । उनको मृत्युको कारण स्पष्ट नभएको र छानबिन प्रक्रिया अझै चलिरहेको बताइएको छ । 

तेह्रथुम जिल्ला घर भएका मृतक तामाङको परिवार हाल ललितपुरस्थित नाखिकोटमा बस्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू