बिहीबार, वैशाख २०, २०८१
03:23 | ०८:०८

संगीतमा उदाउंदै सौगात

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२४

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउंदै छन् गायक सौगातजंग थापा । सिन्धुली कमलामाइ नगरपालिका २, चियाबारी–थाक्लेमा जन्मिएका थापा विगत ७ वर्षदेखि यस क्षेत्रमा आवद्ध छन् । छोटो समयमै ‘नेम एण्ड फेम’ बटुल्दै छन् उनी ।

टलक थापा थकितको शब्द र राजकुमार बगरको संगीतमा रहेको ‘टाढा नबन’ बोलको गीत पहिलोपटक बजारमा ल्याएपछि दर्शक श्रोताले विस्तारै चिन्न थाले । उनी यसपछि सांगीतिक क्षेत्रमा व्यवसायिक रुपमा होमिए ।

सानैदेखि गायनमा सौखिन थापा गाउंघरमा रहंदा विभिन्न मेला, महोत्सवहरुमा गीत गाउंथे, आफ्ना साथीभाई आफन्तजनलाई गीत सुनाएर मनोरन्जन दिलाउंथे । घासपात गर्न जांदा होस् वा गोठालो जांदा, उनी गीतहरु गुनगुनाइ राख्थे । स्वर्गीय नारायण गोपालदेखि प्रमोद खरेल, शिव परियार, यम बराल लगायत थुप्रै हस्तिहरुको गीत सुनेर उनी आफू पनि ठूलो गायक बन्ने सपना बुन्थे। प्लस २ पढ्दै गर्दा काका टलक थापा थकितसंग ठोकिन पुगे उनी । भतिजको आवाज सुनेपछि काकाले उर्जा थप्दै भने, ‘मेहनत र लगाव झुकाव राखे तिम्रो आवाजले राम्रै ठाउँ पाउन सक्छ ।’ थकितले नै राजकुमार बगरसंग चिनजान गराइ गीत रेकर्डिङको सम्पूर्ण व्यवस्था मिलाइदिए ।

त्यसपछि सौगातले थुप्रै गीतकारसित काम गर्ने अवसर पाए । उनका लागि एक पछि अर्को अवसर जुर्दै गयो । गीतकार उत्तम बर्तौलाको शब्दमा मैले गर्ने माया, हाम्रो माया जाल जस्ता सुमधुर गीत गर्ने अवसर प्राप्त गरे । त्यसैगरि उनका जुनी–जुनी, कुरै कुरामा, दिलको छेउ कुनामा, माया बराबरी, तिम्रो मीठो मुस्कान, गरौं रमाइलो, म त फंसे जस्तो लाग्यो जस्ता थुप्रै गीत बजारमा आइसकेको छ । केही गीतमा त उनी आफैंले संगीत पनि भरेका छन् ।

परिश्रम र मिहेनतमा विश्वास राख्ने थापा धैर्यता र अनुशासन भए एक दिन पक्कै सफलता पाइन्छ भन्ने विश्वासमा छन् । जुनी जुनी, हाम्रो माया जाल गीतबाट त गायक थापाले वर्षको सर्वोत्कृष्ट नव गायकको रुपमा अवार्ड समेत चुमिसकेका छन् । यसबाहेक अरु थुप्रै अवार्डसमा ‘टप ५’ नोमिनेसनमा समेत परेका छन् उनी ।

केही समय अगाडि सम्पन्न चौंथो जेनियस म्यूजिक अवार्डसमा गायक सौगात जेनियस कला सम्मानबाट सम्मानित समेत भए । आफूलाई मिलेको उक्त सम्मानबाट गायक थापा थप उत्साहित र खुशी छन् । आफूले गरेको मिहेनतको फल पाएको थापा बताउंछन्। यस सम्मानले आगामी दिनम अवसर र चुनौती समेत थपेको गायक थापालाई महशुस भएको छ ।

गायक थापाको रेकर्डिङ सकिएका थुप्रै गीत छन् । ती गीत चांडै बजारमा ल्याउने तयारी भइरहेको उनले बताए ।

पछिल्लो समय म्यूजिक क्षेत्र असुरक्षित बन्दै गएको उनको बुझाइ छ । ‘यो सानो क्षेत्रमा धेरै प्रतिष्पर्धा छ। राम्रो सृजना गर्न सक्ने टिक्छन् नसक्ने आफैं ओझेल पर्छन्’, उनी भन्छन् । संगीत प्रवर्धनका लागि लगानीकर्ता ‘सेक्यूर’ हुनुपर्छ भन्ने मान्यता उनको छ ।

छोराछोरीको क्षमतालाई विश्वास गरेर बुवाआमाले पनि सोहीअनुरुप बाटो देखाउनु पर्छ भन्ने धारणा उनको छ।

आदत बन्यौ मेरो, पोखराको बसमा, तिम्रो कर्के नजर, छुट्दैन माया जाल लगायत थुप्रै गीत गायक थापाको अब चांडै बजारमा आउने तयारीमा छन् । ‘कला र गला भएर मात्र नहुने रहेछ यो क्षेत्रमा’, उनले भने- ‘अग्रजहरुप्रति सद्भाव र सम्मान अनि अनुजलाई राम्रो बाटो देखाउनुपर्छ’- गायक थापाको सोच छ ।

सौगातले आफूलाई अवसर दिन विदेशमा रहेका नेपाली समुदायसंग पनि अपिल गरेका छन् ।

गीत गाउने, संगीत भर्ने बाहेक उनी खेल्कुदमा पनि रुचि राख्छन् । किताब पढ्न, नयां-नयां ठाउं भ्रमण गर्न पनि उनमा निकै रुचि छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू