सोमबार, वैशाख २४, २०८१
23:16 | ०४:०१

प्रेमलक्षणा भक्तिः गोपी प्रसंग तथा उद्धवद्वारा गोपीहरुको स्तुति

डा. कृष्ण उपाध्याय डिसेम्बर १६, २०२३


अब भक्तिका प्रकारका आधारमा भागवतका स्तुति (प्रार्थना) हरुको चर्चा प्रारम्भ गरिन्छ। प्रेमलक्षणा भक्तिको बारेमा पहिले नै बताइएको छ। गोपीहरुको भक्ति प्रेम–लक्षणा भक्ति हो। तर पहिले, गोपी को हुन् र उनीहरुको जगत के हो भन्ने चर्चाबाट प्रारम्भ गर्नु उपयुक्त हुन्छ। अनास्थाका भावहरु गोपीहरुप्रति भ्रम छर्ने गर्दछन्, र उनीहरुको प्रेमलक्षणा भक्तिलाई प्राकृत प्रेम भन्दछन् । यो चर्चाले यस्ता भ्रमबाट मुक्त हुन मद्दत गर्नुका साथै गोपीहरु कसरी विशिष्ट भक्तका रुपमा स्थापित छन् भन्ने पनि प्रष्ट पार्छ।

गोपी को हुन्?
गोपीहरुको समूह फरक फरक प्रकारका गोपीहरुको समूह हो। एक प्रकारका गोपी समूह देव कन्या हुन्। श्रीमद्भागवत मै यसको उल्लेख छ। ब्रह्मादि देवताहरुको प्रार्थना पछि भगवानको आज्ञा देवता हरुलाई सुनाउदै ब्रह्माजी भन्नु हुन्छ, हामीले प्रार्थना गर्नु भन्दा पहिले नै भगवानलाई थाहा थियो पृथ्वीमा भार (ज्वर) छ, त्यसैले भार हरण गर्न भगवानको अवतरण हुन्छ। पृथ्वीको भार हरण गर्न भगवान आएर रहंदासम्म सवै देवसमूह यदुहरुको कुलमा जन्म लिनु। यथाः

पुरैव पुंसावधृतो धराज्वरोभवद्भ‍िरंशैर्यदुषूपजन्यताम् ।
स यावदुर्व्या भरमीश्वरेश्वरःस्वकालशक्त्या क्षपयंश्चरेद् भुवि ।। १०ः१ः २२ ।।
तदनुरुप देवकन्याहरु पनि गोपीको रुपमा गोकुलमा अवतरित हुन्छन्।

अर्का प्रकारका गोपीको श्रीमद्भागवत मै यसको उल्लेख छ । गोपीहरुले चिरहरण लीला ताका कात्यायनि माताको व्रत गरेर कृष्ण पति पाउँ भनेर आराधना गरेका थिए। यथाः

कात्यायनि महामाये महायोगिन्यधीश्वरि ।
नन्दगोपसुतं देवि पतिं मे कुरु ते नमः ।
इति मन्त्रं जपन्त्यस्ताः पूजां चक्रुः कुमारिकाः ।। (श्रीमद भागवत १०ः२२ः४)

गर्ग संहिताको गोलोक खण्डको चौथौ अध्यायमा गोपीहरुको बारेमा भगवान स्वयम् भन्नु हुन्छः

श्रुतिरूपा ऋषिरूपा मैथिलाः कौशलास्तथा।
अयोध्यापुरवासिन्यो यज्ञसीताः पुलिन्दकाः ।। ४ः१५।।
यासां मया वरो दत्तो पूर्वे पूर्वे युगे युगे ।
तासां यूथा भविष्यन्ति गोपीनां मद् व्रजे शुभे ।। ४ः१६।।

(हे शुभे! (मुर्तिमान) श्रुतिगण, ऋषिगण, मिथिला, कौशल, र अयोध्याका नारि, यज्ञसिता (सीताका स्वर्ण मूर्ति), र पुलिन्द (भील आदिवासी) महिलाहरु आदि जजसलाई मैले पूर्वकालमा वर दिएँ, तिनीहरु ब्रजका गोपी हुनेछन्

गोपी को हुन् भन्ने बारेमा भगवानको वाणीको सप्रसंग व्याख्याको रुपमा आएको छ (हेर्नुस्, गोलोक खण्ड ४ः३५–६७), जसको सार छः

१. श्रुतिरूपाः मुर्तिमान श्रुति हरुले परमब्रहम (विराट स्वरुप) को स्तवन गरेर वर् माग्दा भने हजुरको हजारौं कामदेव जस्तो मनोहर स्वरुप देखेर, हजुरसंग मिलन होस् भन्ने उत्कट इच्छा छ। भगवानले अब हुने प्रलय पछि तिमीहरु गोकुलमा तिमीहरु गोपी भएर जन्मने छौ र म संग प्रेमभाव हुन्छ भन्ने वरदान दिनु भयो। (गोलोक खण्ड ४ः२०–३३ )

२. ऋषिरूपाः त्यसै गरि, श्रीरामलाई दण्डकारण्यमा भेट्ने ऋषि गण जसले भगवानको दिव्य शरीर (जो मानिसको जस्तो थिएन) आलिंगन गर्ने इच्छा गर्नु भयो। ऋषिहरुको शुष्क शरीरले आलिङ्गनको दिव्य रसास्वादन गर्न सक्दैन भनेर गोपी हरुको सुन्दर शरीर दिएर श्रीकृष्णको रुपमा उनीहरुसंग आलिङ्गन गर्नु भयो। (गोलोक खण्ड ४ः५२–५४) पद्म पुराणमा पनि दण्डकारण्यका ऋषिहरुले भगवान (राम) को दिव्य शरीर देखेर आलिङ्गन गर्ने इच्छा गर्दछन्, ति सबैपछि स्त्री रुपमा गोकुलमा समुत्पन्न भएको र हरि प्राप्त गर्ने कामनाले भवसागरबाट मुक्त भएको प्रसंग आउँछ। हेरौंः

पुराम महार्षयः सर्वे दण्डकारण्य वासिनः ।
दृस्ट्वा रामं हरिं तत्र भोक्तुमैच्छन सुविग्रहम।।
ते सर्वे स्त्रीत्वमापन्नाः समुद्भुतान्श्च गोकुले।
हरिम सम्प्राप्या कामेन ततो मुक्ता भवार्णवात्।।

(पद्मपुराण, उत्तर खण्ड, २४५ः१६४–१६५ )

३. मैथिलाः भगवान राम विवाहको बेलामा जनकपुरका युवति भगवानको स्वरुपसंग मोहित भएर भगवानलाई आफ्नो प्रियत्तम वनाउने प्रार्थना गरे। भगवानले द्वापर युगमा उनीहरुलाई पनि गोपी हुने अवसर प्राप्त हुन्छ भन्नुभयो।

४. कौशलाः भगवान राम जनकपुरबाट फर्किदा कोशल देशका युवतीहरुले पनि मोहित भएर मन मनै पति रुपमा वरण गरे। तिमीहरु सवै गोकुलाका गोपी हुने छौ भनेर भगवान रामले मौन रुपमै वर दिनु भयो।

५. अयोध्यापुरवासिः भगवान राम फर्केर अयोध्या आइ पुग्दा अयोध्याका स्त्रीहरु हेर्न आए, र भगवान रामलाई देखेर मन्त्रमुग्ध भएर मुर्छित भए। त्यस पछि भगवान राम परायण भएर सरयु नदीको छेउमा तपस्या गर्न थाले। तपस्या गर्दा गर्दै आकाशवाणी भयो र भनियो द्वापरको अन्त्यतिर यमुनाको तिरमा उनीहरुको मनोरथ पुरा हुनेछ। ति पनि गोपी हरुको रुपमा गोकुलमा आए।

६. ऋषिरूपाः चित्रकुटका ऋषिपत्नी हरुले मन्त्रमुग्ध भएर प्राण त्याग्न खोज्दा भगवान राम ब्र्हमचारी भेषमा आएर प्राण नत्याग्न र उनीहरुको मनोरथ द्वापर युगको अन्तमा पुर्ण हुन्छ भन्दै अन्तर्ध्यान हुनु भयो। ति ऋषि पत्नीहरुपनि गोपीको रुपमा गोकुलमा आविर्भाव भए।

७. यज्ञसीताः त्यसपछि, भगवानले सीताजी त्याग गरेको वेलामा यज्ञ गरेको बेलामा सुवर्ण सीता बनाएर यज्ञ सम्पन्न गर्नु हुन्थ्यो। धेरै चोटी यज्ञ कर्म गर्दा धेरै प्रतिमा बनेका थिए। तिनीहरु चैतन्ययुक्त भएर एकदिन रामको छेउमा आए। आफू एकपत्नीव्रत भएकाले उनीहरुलाई अहिले स्वीकार गर्न नसकिने त्यसैले द्वापरको अन्ततिर वृन्दावनमा आउँ भन्नु हुन्छ। तिनिहरु अर्को प्रकारका गोपी थिए ।

अर्का थप प्रकारका गोपी समूहको वर्णन गोलोक खण्डकै पाचौं अध्यायमा गरिएको छः
८. वैकुण्ठ (लक्ष्मीजीका सहचरीहरु), स्वेतद्वीपका भगवान विष्णुका श्रीचरणमा आश्रित देवीहरु, समुद्रवाट प्राप्त लक्ष्मीजीका साथीहरु सबै गोपीका रुपमा जन्मनछन् । (हेर्नुस, १–३)

यो माथिको चर्चाको सार के हो भने गोपीहरु विशिष्ट जीवात्मा हुन्, समान्य जीव होइनन्, जो फरक फरक प्रकारका छन्।

गोपीहरुको जगत र प्रेमः
गोपीहरु निष्पाप र सरल छन्। उनीहरुको जगत पनि सरल र दिव्य छ। गोपीको जगत वृन्दावन नै हो। त्यहाँ कृष्ण र राम छन्, उनीहरुका लीला छन्, वृन्दावन छ, चरा चुरुङ्गि छन्, नदी (यमुना) छन्, आकाश छ, मेघ छ, पुलिन्द (भिल्ल) महिला छन्, गोवर्धन पर्वत छ, गाइ छन्, गाइ चराउने जाने अरु गोप कुमार छन, रुखपात, वनलता छन्, कृष्णको वंशी छ। ति सबै कृष्णमय छन् उनीहरुका लागि।

ति सबैसँग उनीहरु कृष्णको सम्बन्ध देख्छन्, आफू जस्तै उनीहरु पनि तिनीहरु पनि कृष्ण प्रेममा मग्न भएको देख्छन्। त्यसैले उनीहरुको त्यो जगत कृष्ण जनित छ, कृष्ण त्यही जगतमा छन्, कृष्ण सधैँ उनीहरुका हृदयमा पनि छन्, त्यसैले त् अविरल सम्झिरहन्छन् ।

गोपीहरुको स्तुति र कर्म हेर्दा कृष्ण प्रतिको अनुरक्ति अरु भक्त भन्दा फरक देखिन्छ। कसैले वात्सल्य भावले प्रेम गर्छन्, कोहि प्रेमीको रुपमा हेर्छन्, कोहि सखाको रुपमा देख्छन्, र उनीहरुको कृष्णरुप प्रतिको आकर्षण देखिन्छ, तथापि उनीहरु कृष्णको भगवत्ता बुझ्दथे, त्यहि अनुरुप स्तुति-प्रार्थना गर्दथे।उनीहरुका हरेक स्तुतिमा कृष्णको भगवत्तताको अनुशीलन भएको। तथापि संगै हुनु पर्ने भाव उनीहरुको हुन्थ्यो, देखुं देखुं हुन्थ्यो, छुट्टिदा विब्हल हुन्थे, त्यसैले सान्निध्यको कामना थियो, वालसुलभ क्रिडाको भाव भंगीमा थियो, समग्रमा उनीहरु भगवानको स्वरुपसँग मोहित देखिन्थे।

त्यसैले त नारदजीले भन्नु भएको हो उनीहरु कामभाव (कामना) ले भगवान प्राप्त गरेका हुन्। नारदजी भन्नु हुन्छः जस्तो भावले भए पनि भगवानलाइ स्मरण गरि रहे भगवत प्राप्ति हुन्छ। शिशुपाल वध पछि उसले भगवत सायुज्य प्राप्त गरेको देखे पछि युधिष्ठिरको जिज्ञासाको उत्तर दिदै नारदजी भन्नु हुन्छः गोपीहरुले काम भावले, डरको कारणले कंशले, द्वेषको कारणले छेदी (शिशुपाल) आदि राजाहरुले, सम्बन्धको कारणले यादवहरुले, स्नेहको कारणले तपाईं (पाण्डवहरुले) र भक्तिको कारणले हामीले (भगन्नाम स्मरण गरि रह्यौं, र भगवत प्राप्त गर्यौ )। यथाः

गोप्यः कामाद्भ‍यात्कंसो द्वेषाच्चैद्यादयो नृपाः ।
सम्बन्धाद् वृष्णयः स्‍नेहाद्यूयं भक्त्या वयं विभो ।। (श्रीमद्भागवत ७ः१ः३१)

नारद्जीले वर्णन गर्नु भएको काल भगवान वृन्दावन हुँदा समय थियो। भागवतमै कथा आउंछ, भगवानको मथुरा लीलाको समाप्ति पछि द्वारका गए पछि, महाभारतको युद्ध अगाडी कुरुक्षेत्र मेलामा सारा भारतबर्षका राजा महाराजहरु आउँदा भगवान पितामाता र परिवार सहित कुरुक्षेत्र आउनु हुन्छ, त्यहि बेला नन्दजी यशोदा सहित गोपीहरु पनि आउछन् र त्यहि भगवान सँग भेट हुन्छ (हेर्नुस् श्रीमद भागवत १०ः.८२) र गोपीहरुलाई भगवानवाट ज्ञान उपदेश हुन्छ। त्यस पछि गोपीहरुले भगवानको सुन्दर एकश्लोकी स्तुति गर्छन् । गृहस्थको जीवन व्यतित गर्दै गर्दा पनि आफ्नो हृदय सधैं भगवानमै रहिरहोस् भन्ने कामना गर्दछन् ।

केहि टिकाकार यो कामभाव रहित ब्रह्मज्ञानी गोपी हरुले गरेको स्तुति भन्नु हुन्छ। भागवतमा गोपीहरुको त्यो अन्तिम स्तुति हो, उनीहरु प्रार्थना गर्छन्ः प्रिय भगवान, हजुरका नाभी कमल समान छ, हजुरका युगल चरण माया संसारको कुवामा डुबेकाहरुको लागि आश्रय हुन्। हजुरका श्रीचरणको योगी र ज्ञानीजनहरुले ध्यान गर्दछन। गृहस्थ धर्ममा रहेका हामीहरुका हृदयमा हजुरका श्रीचरण सधैँ रही रहुन्। यथाः

आहुश्च ते नलिननाभ पदारविन्दं
योगेश्वरैर्हृदि विचिन्त्यमगाधबोधैः ।
संसारकूपपतितोत्तरणावलम्बं
गेहं जुषामपि मनस्युदियात् सदा नः ।। (१०ः८२ः४८ )

भगवान वृन्दावनमा हुँदा पनि माथि वर्णन गरिएका सबै प्रकारका भक्तिमा रहे पनि, मुलतः उनीहरुका भक्ति प्रेमलक्षणा नै थियो। उनीहरु प्रेम गर्थे, प्रेमिल भावमा भगवान सङ्ग खेल्थे, भगवानका लीलाहरु नक्कल गर्दै खेल्थे––विरहमा पनि, खुशीमा पनि। भगवानसंग उनीहरुको दिव्य प्रेम थियो त्यसैले उनीहरु पनि भगवानका प्रेमपात्र थिए। भगवान स्वयम गीतामा भन्नु हुन्छः जसले मलाई जसरी भज्दछन्, म उनीहरुलाई त्यसै गरि भज्दछु । यथाः

ये यथा माम प्रपध्यन्ते तांस्तथैव भजाम्यहम् (गीता ४ः११ )

उनीहरुको प्रेम भाव, गोपी भावको भक्ति, कलि कालमा गोदम्बा (अन्डाल) र मीरवाईको भक्तिमा पनि देखन पाइन्छ। अन्डाल १२ अल्वार सन्तहरु मध्यको एक प्रमुख अलवार सन्त र एक मात्र महिला अलवार सन्त हुनुहुन्थ्यो।

अघिल्लो भागमै भनिएको छ, गोपीहरु दिव्य आत्माका अवतार थिए। उनीहरुको प्राकृत प्रेम भाव (वासना) थिएन भगवानप्रति। रासलीलाकै बेलामा पनि भगवानको उमेर मात्र ७ बर्षको थियो। प्राकृत शरीर नै हुँदा पनि यो उमेर प्राकृत कामको उमेर होइन। यो प्राकृत प्रेम होइन भन्ने बुझन केहि प्रसंगहरुको चर्चा अनिवार्य छ।

शुकदेव जस्तो ब्रह्मज्ञानी, मायाको प्रभावमा कहिल्यै नरहनु भएको यस्तो प्राकृत प्रेम कथा सुनाउनु हुन्न थियो। किनभने, उहाँलाई सांसारिक विषयप्रति कुनै रति थिएन। श्रीमद्भागवतमै सुतजी वहाँको वारेमा भन्नु हुन्छः जो यज्ञोपवित संस्कार नहुदै सन्यास लिएर हिड्दा वहाँको प्रिताजी वेदब्यास ’छोरो, छोरो’ भन्दै कातर (आतुर) भावमा पछि पछि दौडदै हुनुहुन्थ्यो, त्यस बेला उहाँ तन्मय भएको देखेर वृक्षहरुले शुकदेवजीको तर्फबाट उत्तर दिए। त्यस्ता सबैका हृदयमा विराजमान शुकदेवजीलाइ म नमस्कार गर्छु। यथाः

यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर आजुहाव ।
पुत्रेति तन्मयतया तरवोऽभिनेदु स्तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि ।। १ः२ः२ ।।

त्यस्ता विषयमा उहाँको रति नहुने मात्र होइन सामान्य स्त्रीहरुले पनि यस्तो विषयमा रति छैन भन्ने वुझेका थिए। उहाँ स्त्री र पुरुषको शरीरमा भेद गर्नु हुन्न थियो, अर्थात शरीरमा जीवात्माको मात्र दर्शन गर्नु हुन्थ्यो।
श्रीमद्भागवत मै माथिकै प्रसंग जोडिएको यो विषय आउछः

जव व्यासजी छोरालाई पछ्याउदै दौडिदै गइ रहनु भएको थियो नुहाउदै गरेका नग्न यौवनाहरुले हत्तपत्त लुगाले शरीर छोपे। तर छोरालाई देख्दा उनीहरु नग्न नुहाई रहे। त्यो देखेर व्यासजीले सोध्दा उनीहरुले भने शुकदेव स्त्री र पुरुषमा भेद गर्नु हुन्न, तर व्यासजी मा त् त्यो भाव छ । यथाः

द‍ृष्ट्वानुयान्तमृषिमात्मजमप्यनग्नं देव्यो ह्रिया परिदधुर्न सुतस्य चित्रम् ।
तद्वीक्ष्य पृच्छति मुनौ जगदुस्तवास्ति स्त्रीपुम्भिदा न तु सुतस्य विविक्तद‍ृष्टेः।।१ः४ः५।।

भागवतका टिकाकारहरु भन्नु हुन्छ, कथा भन्ने शुकदेवजी मात्र होइन, कथा सुन्ने परिक्षित पनि यस्तो कथामा रुचि राख्नु हुन्न किन भने यो कथामा आइपुग्दा वहाँको आयु अब मात्र तिन दिन थियो। उहाँ वैराग्य भाव राखेर (धन, सम्पति, राज्य, ऐश्वर्य सवै त्यागेर) एक चित्त भएर भगवानका कथा सुन्दै हुनुहुन्छ। अरु श्रोता हुनहुन्थ्यो महर्षि व्यास, राजर्षीहरु, सुतजी जस्ता मुनिगण जो ब्रह्मज्ञान भन्दा अरु विषय संग, त्यसमा पनि प्राकृत प्रेमको कथा, सुन्न आउनु भएको थिएन।

त्यसैले गोपीहरुसंग भगवानका जति लीलाहुन्, ति दिव्य हुन्, प्राकृत होइनन्।

उद्धवजीले गोपीहरुको गरेको स्तुतिबाट शुरु गरिएको, गोपीहरुका दिव्य प्रेम सहितका भक्ति र शरणागति झझल्किने छ वटा स्तुति यहाँ प्रस्तुत गरिएको छ। गोपीहरुलाई नभेटौञ्ज्याल निराकार इश्वरको कुरा गर्ने र फरक उपासना विधिको कुरा गर्ने उद्धवजी, गोपीहरुलाई देखेर, उनीहरुको भाव वुझेर, र साकार–सगुण स्वरुपमा उनीहरुको तन्मयता देखेर उद्धवजी आफै पनि उनीहरु वाट दीक्षित झैँ हुनु भएको थियो।

यो स्तुति पैली प्रस्तुत गरेर गोपीहरु उच्च कोटीका भक्त थिए भन्ने उद्धवजीको ब्याख्या प्रस्तुत हुन्छ। गोपीहरु को हुन् र उनको जगत र प्रेम कस्तो थियो भन्ने माथिको चर्चाको उद्देश्य पनि त्यै हो।

उद्धव द्वारा गोपीहरुको स्तुति, दशम स्कन्ध, सत्चालिसौं अध्याय

पृष्ठभूमिः
यो स्तुति गोपीहरुको भ्रमर गीत भएकै अध्यायमा छ। भगवान श्रीकृष्णको मथुरा गमन र कंसवध पछाडी भगवानले उद्धवजी लाइ वृन्दावन पठाउनु हुन्छ गोपी सहित अरु वृन्दावन वासीहरुलाई भेट्न। उद्धवजी भगवानको संदेश लिएर वृन्दावन पुग्नु हुन्छ। उहाँको स्वरुप र परिधान भगवान जस्तै थियो, सवै गोपीहरु भगवानको जस्तो वहाँको त्यो स्वरुप देखेर अचम्म मान्दछन्। भ्रमर गीतमा गोपीहरुले उद्धवजीलाई लक्षित गर्दै भवरा संग कुरा गर्छन्, प्रेम पुर्वक श्रीकृष्णलाई घुर्क्याउछन्। यसको चर्चा पछि गरिएको छ।

भगवानका सखा उद्धवजी परम विद्वान र देवगुरु वृहस्पतिको शिष्य हुनुहुन्थ्य्यो। परम भक्त हुनुहुन्थ्यो। भगवानको निराकार स्वरुपको उपासना गर्नु हुन्थ्यो यद्यपि कृष्ण भगवानको स्वरुप हो भन्ने जान्नु हुन्थ्यो र तदनुरुपको भाव पनि राख्नु हुन्थ्यो। उहाँ गोपीहरुलाई पनि मनमा त्यो निराकार निर्गुण ब्रह्मको चिन्तन गर्न उपदेश दिनु हुन्छ तर गोपीहरुको कृष्ण प्रेमले आफै भगवानको साकार, सगुण स्वरुपको वारेमा ज्ञान प्राप्त गर्नुहुन्छ। गोपीहरुको भक्तिबाट अनुप्राणित हुनुहुन्छ। त्यसैले पहिले ‘ज्ञानी, कृष्ण कृष्ण भन्दै मोहमा फसेका गोपी’ भनेर ठान्ने उद्धवजी तिनै गोपीहरुलाई उत्कृष्ट र उत्तम भक्तको रुपमा स्तुति गर्नु हुन्छ। यो भक्त प्रतिको अर्को भक्तले गर्ने श्रद्धाको अनुपम उदाहरण पनि हो।

श्लोक र अर्थः
एताः परं तनुभृतो भुवि गोपवध्वो
गोविन्द एव निखिलात्मनि रूढभावाः ।
वाञ्छन्ति यद् भवभियो मुनयो वयं च
किं ब्रह्मजन्मभिरनन्तकथारसस्य ।। ५८ ।।

यो पृथ्वीमा मात्र यी गोपीहरुको जीवन सफल छ, किन भने गोविन्द (कृष्ण) लाई परम प्रेम गर्ने यिनीहरु मात्र हुन्। (यो त्यस्तो प्रेम हो) जुन प्रेमलाई प्राप्त गर्न यो (भव भय वाट ) भयभीत मुनि (मुमुक्षु ) र हामी (भक्त) पनि अभिलाषा राख्दछौं। जसले भगवत कथाको रसास्वादन गरेका छन्- प्रेम गरेका छन्, तिनीहरुलाई ब्राह्मणनै भएर किन जन्मनु परेको छ (जँहा जन्मिए पनि उत्तम नै हो )।

क्व‍ेमाः स्‍त्रियो वनचरीर्व्यभिचारदुष्टाः
कृष्णे क्व‍ चैष परमात्मनि रूढभावः ।
नन्वीश्वरोऽनुभजतोऽविदुषोऽपि साक्षा–
च्छ्रेयस्तनोत्यगदराज इवोपयुक्तः ।। ५९ ।।

कँहा वनमा घुम्ने यी स्त्रीहरु, जसले व्यभिचार को दोष खेपेका छन, कँहा यीनको भगवान प्रतिको यिनको प्रेम ! जस्तै सुकै अज्ञानीनै रहेछन भने पनि त्यस्ता भक्त÷भजन गर्नेहरु माथि अनुग्रह गर्नु हुन्छ। जसरी अमृतको प्रभाव नबुझ्नेले पनि अमृत पान गर्दा त्यसको प्रभाव उसमा हुन्छ (अथवा अमर हुन्छ )।

नायं श्रियोऽङ्ग उ नितान्तरतेः प्रसादः
स्वर्योषितां नलिनगन्धरुचां कुतोऽन्याः ।
रासोत्सवेऽस्य भुजदण्डगृहीतकण्ठ–
लब्धाशिषां य उदगाद् व्रजवल्ल‍भीनाम् ।। ६० ।।

जुन प्रसाद रस–उत्सवमा भगवानका भुजाहरु वाट गोपीहरुको कण्ठमा आलिगन गर्दा प्राप्त भयो, त्यस्तो प्रसाद त् स्वर्गका कान्तियुक्त र सुगन्धयुक्त स्त्रीलाई पनि प्राप्त भएन। अरुको त के कुरा, स्वयम् श्री जी (लक्ष्मीजी) लाई पनि यो आनन्द (यो प्रसाद) प्राप्त भएन।

आसामहो चरणरेणुजुषामहं स्यां
वृन्दावने किमपि गुल्मलतौषधीनाम् ।
या दुस्त्यजं स्वजनमार्यपथं च हित्वा
भेजुर्मुकुन्दपदवीं श्रुतिभिर्विमृग्याम् ।। ६१ ।।

अहो! यी गोपीहरुका चरणरजका सेवन गर्ने वृन्दावनका स–साना बुट्यान, लहरा, औषधिका बोट आदि (केहिका रुपमा भए पनि) मेरो जन्म होस। किन भने, यिनीहरुले दुस्त्यज्य (त्याग गर्न गारो) स्वजन आदिको रितिलाई पनि छोड्दै मुकुन्दको चरण प्राप्त गरे, जुन चरणको खोजी श्रुति (वेद) आदिले पनि गर्छन्।

या वै श्रियार्चितमजादिभिराप्तकामै–
र्योगेश्वरैरपि यदात्मनि रासगोष्ठ्याम् ।
कृष्णस्य तद् भगवतः चरणारविन्दं
न्यस्तं स्तनेषु विजहुः परिरभ्य तापम् ।। ६२ ।।

(गोपी हरुले) लक्ष्मीजी, र आत्म–काम (पूर्ण सन्तुष्ट) योगका पारङ्गद(योगी) हरु जसको चरणकमलको आफ्ना हृदयमा पुजा गर्छन्, त्यस्ता (भगवानका) चरणकमल आफ्नो बक्षस्थलमा राखेर, तिनीहरुलाई आलिङ्गन गरेर सवै ताप हटाए।

वन्दे नन्दव्रजस्‍त्रीणां पादरेणुमभीक्ष्णशः ।
यासां हरिकथोद्गीतं पुनाति भुवनत्रयम् ।। ६३ ।।

नन्दजीको व्रजका यी स्त्रीहरुको (गोपी हरुको) चरणरेणु (चरण धुलो) लाई म वारम्वार नमस्कार गर्छु। यिनीहरुले गरेको भगवानका लीलाहरुको गानले तिनै लोकलाई पवित्र गर्दछन्।

संक्षिप्त व्याख्याः
उद्धवह्जी गोपीहरुको जीवन सफल भन्नु हुन्छ (हेर्नुस श्लोक १)। आध्यात्मिक रुपले कस्तो जीवनलाई सफल मान्ने? शास्त्र र आचार्यहरुले हामीलाई वुझाउनु भएको छ। परम पुरुषार्थ के हो भने उसले भगवत प्राप्ति गरोस्। धर्म, अर्थ, काम, आत्मानुभव र भगवत प्राप्ति आदि नै ‘अर्थ पंचक’ मा वर्णित पुरुषार्थ हुन्, हेर्नुस्ः

पुरुषेण अर्थनीयः पुरुषार्थः सच् धर्मार्थकामात्मानुभव भगवदनुभव भेदात्पंचबिधः (स्वामी लोकाचार्य, अर्थपंचक, ७)

भगवत प्राप्ति नै भक्त÷भागवतहरुको परम पुरुषार्थ हो। गोपीहरुले त्यो प्राप्त गरेका छन्। त्यस अर्थमा, उद्धवजीले भने जस्तै उनीहरुको जीवन सफल छ। भगवत प्राप्तिको एउटा अवस्था के हो भने भक्त–भागवतहरुको चेतन–अवचेतनमा भगवत छवि र भाव विद्यमान हुन्छ। ति भाव र चित्रले उनीहरुको कर्मका प्रकार निर्धारण गर्दछन्। त्यहाँ प्रेमको भाव छ अनि सुन्दर वाल स्वरुपका भगवानको चित्र छ।

उनीहरुले त्यो कसरी प्राप्त गरे पनि भन्नु हुन्छ उद्धव जी। गोविन्दसँगको उनीहरुको प्रिती ‘रुढ भाव’ मा थियो (श्लोक ५८ हेर्नुस)। यो ‘रुढ भाव’ को सारै महानिय व्याख्या ‘चैतन्य चरितामृत’ ले गर्छ (बंगालीलाई देवनागरीमा लेखिएको छ यहाँ):

गोपी गनेर प्रेमेर ’रुढ भाव’ नाम
विशुद्ध, निर्मल प्रेम, कभु नहे काम । (चैतन्य चरितामृत, आदि ४ः१६२)
(अर्थः गोपीहरुको प्रेमलाई ’रुढ भाव’ भनिन्छ। त्यो शुद्ध र निर्मल प्रेम हो, काम कहिल्यै (वासना) हुदैन)।

गोपीहरुको कृत्यलाई कसरी निर्मल भन्ने त्? उनीहरु नाँचछन्, आलिङ्गनमा हुन्छन, वालस्वरुप भगवान (कृष्ण) लाई छातीमा उभ्याउंछन्, आमाले वालकलाई थिगिरी थिगिरी गरे जस्तै। यसको सोझो तात्पर्य हो ‘आनुकुलस्य संकल्प’ (हेर्नुस यस अघिको भक्तिको चर्चा) । भगवानको उमेरको अवस्था अनुरुप गोपीहरु वात्सल्य, प्रेम, आदिद्वारा भगवत सेवा गर्दछन । भगवानको अनुकुल हुने संकल्प हो त्यो। त्यो विशिष्ट भक्त-वैष्णवीय भाव र आचरण हो।

उनीहरु गोविन्दलाई भगवानको रुपमा स्तुति गर्छन्। त्यसैले उनीहरुका कर्म आफ्ना उपास्यको प्रसन्नता छ। त्यसैले ’वनचरीर्व्यभिचारदुष्टाः’ (बनमा हिड्ने व्यभिचारिणी) को आक्षेप खेप्छन् (हेर्नुस् श्लोक ५९), लौकिक आचरणको आधारमा त् उनीहरुले पति–वन्धु–वान्धव सवैले मान्ने लोकाचारको सीमा नाघेर रासनृत्यमा सहभागी भएका थिए। तर उनीहरुको अगाडि लौकिक मूल्य सवै भगवानकै अगाडि समर्पण गरेका थिए, ति सबै सम्बन्ध अनित्य हुन् उनीहरुका लागि, उनीहरु त् नित्यानन्दको शरणमा शरणागत थिए। सवै धर्म-कर्तब्य मुक्ति मार्गमा हिड्नेको निम्ति समर्पण र शरणागति न हो। गोपीहरुको भाव हेर्दा यस्तो लाग्छ उनीहरु भगवानले वर्षौं पछि अर्जुनलाई गरेको उपदेशको अनुशरण गरि रहेका छन्, अर्थात उनीहरु भगवानको वाणी हुबहु अनुशरण गरि रहेका छन्। भगवान अर्जुनलाइ भन्नु हुन्छ-

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः।। (श्रीमद्भगवत गीता १८ः६६)
(सवै धर्म (कर्तव्य) छोडेर तिमी मेरो शरणमा आउँ, मा तिमीलाई सबै पापबाट मुक्त गर्छ, चिन्ता नगर !) गोपीहरुमा यस्तै शरणागत भाव देखिन्छ। त्यै हो गोपी भाव !

त्यसैले त् उद्धवजी भन्नु हुन्छ ति गाउँले वनचरि अज्ञानी त् हुन् (लोकको आँखामा) तर उनीहरुले नै त् पीए नि अमृत । जानेर पियोस कि नजानेर पियोस, अमृत अमृत हो। यसले प्रदान गर्ने भनेको अमरत्व न हो। ‘अज्ञानी’ र ’गाउँले’ हरुले जसरि जाने त्यसरी उपासना गरे (अमृत प्राप्त) गरे र भगवानको कृपा प्राप्त भयो (अमरत्व प्राप्त गरे) ।

ति ’व्यभिचारी’ भनिएकाहरुले कस्तो अनुग्रह (अमृत) प्राप्त गरे। जो संसारका श्रेष्ठ जीवहरुलाई पनि प्राप्त भएन। उद्धवजी भन्नु हुन्छ भगवानको हातको आलिङ्गन त् न स्वर्गका सुगन्धमयी स्त्री हरुलाई प्राप्त भयो, न त रमापतिबाट रमालाई नै प्राप्त भयो!

यस्तो करुणाका पात्र मात्र निर्मल निर्मल भक्तहरु मात्र हुन्छन्, गोपीहरु मात्र हुन्छन्। ध्रुव र प्रल्हादजीले प्राप्त गरेको वात्सल्यपूर्ण शिर स्पर्श जस्तै भगवानको आलिङ्गन प्राप्त भक्तहरु गोपीहरु मात्र त हुन्। यो भगवानको भक्तहरु लाइ गर्ने करुणा हो। गोपीहरु यस्तो करुणाका अधिकारि किन नहुन? मार्न उद्यत भएर आएकी पुतनामाथि त् भगवानले करुणा गर्नु भयो। उद्धवजीले भगवान (कृष्ण)को परमधाम् गमनपछि भक्कानिदै विदुरजीलाई भगवानको करुणाको वर्णन गर्दै भन्नु हुन्छः अहो, ति भन्दा दयालु कसको शरणमा जानु, जसले स्तनमा कालकुट विष मिलाएर (दुध खुवाउदै) मार्न आएकी असाध्वी पुतनालाई पनि धाइ–आमालाई प्राप्तयोग्य गति प्रदान गर्नुभयो (अर्थात, सायुज्य मुक्ति प्रदान गर्नु भयो)। यथाः

अहो बकी यं स्तनकालकूटं
जिघांसयापाययदप्यसाध्वी ।
लेभे गतिं धात्र्युचितां ततोऽन्यं
कं वा दयालुं शरणं व्रजेम ।। (श्रीमद्भागवत ३ः२ः२३)

गोपीहरुको भाग्य सम्झिदै उद्धवजी भावुक हुनहुन्छ र भन्नु हुन्छ यस्ता भाग्यमानी गोपीहरुको चरणको धुलो स्पर्श गर्ने वृन्दावनका तरु–लताकै रुपमा भए पनि जन्मिन पाए हुन्थ्यो! यो भाव भगवानका भक्तहरुको आश्रय लिनु पर्ने शुकदेवजीले गर्नु भएको स्तुतिको भाव जस्तै छ। यतिखेर, उद्धवजी आफ्नो श्रेष्ठता, विद्वता विर्सनु हुन्छ र उनीहरुको चरणधुलि कामना गर्न थाल्नु हुन्छ। किनभने मुकुन्द प्राप्तिको निम्ति उनीहरुले लौकिक रितिलाई पनि बिर्सिदिए। ठूल्ठूला योगीहरुले ध्यान गर्ने र अप्राप्य चरण कमल त् गोपीहरुले छातीमा राखेर आफ्नो तापबाट मुक्त भए। गोपीहरुले गाएका भगवानका लीलाका गीतको स्मरण गर्दै वहाँ भन्नु हुन्छ, यी गीतहरुले जगतै पवित्र गर्ने छन्।
त्यति मात्र होइन, शुद्धताले ताप हरेर सवै शान्त भावमा जीवन व्यतित गर्ने हुन्छन्। सुतजी भागवत पुराण समापन गर्दै अन्तिम श्लोकमा भन्नु हुन्छः जसको नाम संकिर्तन र सेवाले सवैको पाप पखालेर दुःखको शमन गर्दछ ति हरिलाई नमन गर्दछु। यथाः

नामसङ्कीर्तनं यस्य सर्वपापप्रणाशनम् ।
प्रणामो दुःखशमनस्तं नमामि हरिं परम् ।। (श्रीमद्भागावत १२ः१३ः२३)

यिनै शुद्धत्मा गोपीहरुले गाएका गीतहरुको यस पछि क्रमशः चर्चा गरिने छ।
––––––––––––––

लेखक डा. कृष्ण उपाध्यायले लन्डन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको छ। तीन दशक अधिक समयदेखि मानव अधिकारका विविध राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत उहाँका आफ्नो पेशागत क्षेत्र बाहेकका एक अंग्रेजी उपन्यास, दुई नेपाली कविता संग्रह पनि प्रकाशित छन्। आज भोलि उहाँ आध्यात्मिक स्वाध्याय र लेखनमा पनि हुनुहुन्छ। यहाँ प्रकाशित आलेखहरु उहाँको प्रकाशोन्मुख ‘भागवत चुडामणि’ नामक आध्यात्मिक ग्रन्थबाट साभार गरिएको हो। उहाँका आलेखहरु पाक्षिक रुपमा प्रकाशित गरिने छ–सम्पादक ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू