शनिबार, १ नोभेम्बर, २०२५
02:58 | ०८:४३

राजदूत घिमिरे ४ नोभेम्बर सांझ नेपाल फर्कने

नेपाली लिङ्क अक्टोबर ३१, २०२५


लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे यही ४ नोभेम्बर सांझ नेपाल फर्कने भएका छन् ।

नेपाल सरकारले राजनीतिक नियुक्ति पाएका बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएपछि घिमिरे धर्मपत्नी सरिता न्यौपाने घिमिरे र सहयोगीसहित मंगलबार सांझ नेपाल फर्कन लागेका हुन् ।

घिमिरेले करिब साढे ९ महिनाअघि गत १७ जनवरी, २०२५ मा लन्डन मिसनमा २३ औं राजदूतका रुपमा कार्यभार सम्हालेका थिए ।

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इजराइल, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरूलाई ६ नोभेम्बर (कात्तिक २० गते) सम्म स्वदेश फर्किसक्न भनिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सम्पादकहरुसंग बालुवाटारमा कुरा गर्दै राजदूतहरु फिर्ता बोलाउनुको तीनवटा कारण प्रस्तुत गरेकी थिइन् । प्रधानमन्त्रीका अनुसार, राजदूतहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको, कतिपय राजदूतले अहिलेको अन्तरिम सरकारमाथि नै प्रश्न उठाउँदै सार्वजनिक टिकाटिप्पणी गरेको र कतिपय राजदूतको नाम आर्थिक अनियमिततामा समेत मुछिएकाले तिनलाई फिर्ता बोलाइएको हो ।

नेपाल सरकारले तत्काल नयां राजदूत नियुक्त नगर्ने निर्णय गरेकाले घिमिरे नेपाल गएपछि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवहाक राजदूतको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू