बेलायतमा मगर युवा प्रतिभाको खोजी



लन्डन । मगर संघ यूके मगर युथले युवा प्रतिभाको खोजी गर्ने प्रतियोगिता ‘मगर्स गट ट्यालेन्ट’ गर्ने तयारी गरेको छ ।
आउंदो नोभेम्बर ८ मा लन्डन फेल्थाममा हुने उक्त वार्षिक प्रतिभा प्रदर्शन कार्यक्रमले मगर समुदायका युवाहरूको सृजनशीलता र सांस्कृतिक पहिचान उजागर गर्ने आयोजकले जनाएका छन् । मगर्स गट ट्यालेन्टको आठौं संस्करण फेल्थामको स्प्रींग वेष्ट एकेडेमी हलमा हुने तयारी छ ।
मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष दीपक थापा ‘मैथाने मगर’ ले जनाए ।
‘मगर्स गट ट्यालेन्ट हाम्रो समुदायका युवाहरूका लागि एउटा प्रेरणादायी मञ्च हो’, दीपकले भने, ‘हरेक वर्ष नयाँ प्रतिभा देख्न पाउँदा गर्व लाग्छ । यस पटक हामीले अझै व्यवस्थित र आकर्षक कार्यक्रम तयारी गरिरहेका छौं।’
मगर समुदायका सबै एकै ठाउँमा भेला भई संस्कृति, ऊर्जा र मनोरञ्जन सँगै मनाइने यस अवसरप्रति सबै उत्साहित रहेको मैथानेले बताए ।
वरिष्ठ उपाध्यक्ष करिश्मा थापाले प्रतियोगिताले मगर समुदायका युवाहरूको सृजनशीलता मात्र होइन, उनीहरूमा आत्मविश्वास र सांस्कृतिक गर्व पनि बढाउने बताइन् । उनले सहभागीहरूलाई आफ्नो क्षमता देखाउन खुला अवसर दिइएको प्रष्ट्याइन् ।
त्यसैगरी, महासचिव विपना थापाले भनिन्, ‘यस वर्षको तयारी अत्यन्त उत्साहजनक छ। प्रतिभा दर्ता सुरु भइसकेको छ र सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ।’
सांस्कृतिक सचिव दिलु थापाले यस वर्ष मगर परम्परा, संगीत र नृत्यको विविधता झल्काउने प्रस्तुतिहरू समावेश गर्ने योजना बनाइएको जनाइन् । कार्यक्रमले मगर जातीको मौलिकता थप उजागर गर्ने विश्वास उनलाई छ ।
कार्यक्रमका लागि मध्यान्ह १२ बजे प्रवेशद्वार खुल्नेछ भने मुख्य प्रस्तुति १ देखि ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । उक्त कार्यक्रमलाई मगर समुदायभित्रको सांस्कृतिक पहिचान र एकताको प्रतीकका रूपमा हेरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



