लन्डनमा युविन तामाङ मृत्यु प्रकरण- र्यापर गेट्स अदालतमा, हिरासतमै राख्न आदेश



गत १८ अक्टोबरमा लन्डनको इल्फोर्डमा चर्चित बेलायती र्यापर गेट्स (वायां) ले चलाएको कारको ठक्करबाट नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको थियो ।
लन्डन- इष्ट लन्डनको इल्फोर्डमा नेपाली विद्यार्थी युविन तामाङको ज्यान जाने गरी भएको सडक दुर्घटनाका आरोपी चर्चित बेलायती र्यापर गेट्स अदालतमा हाजिर भएका छन्।
गेट्स नामले प्रख्यात अवार्ड वीनर जस्टिन क्लार्क–सामुअललाई सोमबार लन्डनको बार्किङसाइड मेजिस्ट्रेट कोर्टले न्यायिक हिरासतमै राख्ने आदेश दिएको छ ।
उनलाई आगामी २४ नोभेम्बरमा फेरि अदालतमा उपस्थित गराइने भएको छ ।
गत १८ अक्टोबरमा इष्ट लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्यापर गेट्सले चलाएको कारको ठक्करबाट २० वर्षीय नेपाली विद्यार्थी तामाङको मृत्यु भएको थियो।
प्रहरीले बताएअनुसार तामाङ सडकमा पैदल हिँडिरहेका बेला बीएमडब्ल्यु कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको थियो ।
दुर्घटनापछि चालक गेट्स घटनास्थलबाट फरार भएका थिए। पछि प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको हो।
शुरुमा उनलाई ‘खतरनाक तरिकाले सवारी चलाएर गम्भीर चोट पुर्याएको’ अभियोगमा दोषी ठहर गरिएको थियो । तर तामाङको निधनपछि आरोपलाई ‘खतरनाक ड्राइभिङ्गबाट मृत्यु गराएको’ मा रूपान्तरण गरिएको थियो।
प्रहरीले अहिले पनि घटनाका प्रत्यक्षदर्शी साक्षीहरु खोजिरहेको जनाएको छ। आसपासका सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीका बयान र घटनास्थलको प्राविधिक अनुसन्धान जारी रहेको बताइएको छ। प्रहरीले सम्भावित साक्षीहरूलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



