आइतबार, २६ अक्टोबर, २०२५
17:54 | २३:३९

नर्थहोल्ट टेन के रनमा सहभागी हुन ५०० बढी नाम दर्ता

नेपाली लिङ्क अक्टोबर २६, २०२५

लन्डन— नेपाल रन यूकेले बेलायतको नर्थला पार्क, नर्थहोल्टमा २ नोभेम्बर बिहान गर्न लागेको नर्थहोल्ट टेन के रनमा सहभागी हुन ५०० बढी सहभागीले नाम दर्ता गराएका छन् ।

नेपाली समुदायको स्वास्थ्य तथा तन्दुरुस्ती उत्सवको रुपमा हेरिएको यो दौडमा नेपाल झल्काउने स्वयम्भू स्तुपा, तोरण र झण्डाहरुले सजाउने तयारी छ ।

९ः३० बजे शुरु हुने दौड कार्यक्रमका दिन ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि हुंदैछ । दौडमा दर्शकहरुको संख्या उल्लेख्य रहने आयोजकको अपेक्षा छ ।

रनको प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूके छ । अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ एकाउन्टेन्ट्स, एनआरएनए यूके, भोजपुर समाज यूके, मोमो हाउस ३६५ एवं सह प्रायोजकहरुमा एसएनपी प्लस अकाउन्टिङ, किरात राई यायोक्खा यूके, राजन लामिछाने, सरोज थेरापी, शिवम कन्स्ट्रक्सन, भिष्म कन्स्ट्रक्सन, गोर्खा किचेन लगायत छन्। कार्यक्रम सहयोगीमा एनबिसी यूके र चित्र गुरुङ रहेका छन् ।

उक्त रनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल रन यूकेका प्रमुख कोच सन्तोष राईले स्पोन्सर र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै दौडको दिन ख्याल गर्नुपर्ने महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका संयोजक पाण्डव महतोले दौडको तयारीबारे जानकारी दिए ।

समुदायमा स्वास्थ्य र तन्दुरुस्तीको चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प’ बनाउन र हेल्प नेपाल नेटवर्कको सहयोगार्थ आयोजित नर्थहोल्ट १० के को मुख्य उद्देश्य रहेको नेपाल यूकेका संस्थापकमध्ये एक तथा सचिव जगन कार्कीले बताए ।

लन्डनमा नेपाली समुदायले आयोजना गर्ने यो रनमा विश्वभरबाट भर्चुअल रुपमा सम्पन्न गरेर नतिजा पठाउन पनि सकिने बताइएको छ ।

दौड सम्पन्न गर्ने सबैले टिसर्ट र भेस्ट प्राप्त गर्ने छन् भने विजेताले ट्रफी, प्रमाणपत्र साथै नेपालमा हुने प्रख्यात अन्नपूर्ण म्याराथन र एभरेष्ट म्याराथनको लागि स्थान प्राप्त गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू