सोमबार, वैशाख १७, २०८१
09:54 | १४:३९

मिलन चाम्स लागे ‘अञ्जिला’ तिर

नेपाली लिङ्क नोभेम्बर ५, २०२३

काठमाडौँ, १९ कात्तिक-नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण शुरु भएको छ ।

गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिए । 

“प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ, मैले दोस्रो बायोपिक निर्देशन गरेको हुँ”, निर्देशक चाम्सले भने, “अञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहेता पनि प्रस्तुतीकरण फिल्मी शैलीमै छ ।”

इलाम, झापा र काठमाडौँमा छायाङ्कन हुने चलचित्रमा खेलाडी सुब्बा स्वयंले आफ्नो भूमिका निर्वाह गरिरहेकी छन् । यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय छ । 

चलचित्रमा यम थापाको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायाङ्कन निर्देशन छ ।

नेपालमा जीवनीबाट प्रभावित (बायोपिक) चलचित्र बन्ने क्रमले केही समययता निरन्तरता पाएको छ । भारतसँगै हलिउडमा त्यस्ता चलचित्र धेरै नै बन्ने गरेको पाइएता पनि नेपालमा भने त्यो सङ्ख्या न्यून छ । 

व्यापारिकरूपमा त्यस्ता चलचित्र असफल हुँदा निर्माताले आँट गर्न सकेका छैनन् । दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले पुनः अर्को चलचित्र तयार गरिरहेका छन् । 

उनले यसअगाडि गोर्खालीको वीरताको कथामा ‘गोर्खा वारियर’ निर्देशन गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू