शनिबार, साउन १२, २०८१
06:53 | ११:३८

एनआरएनए यूके अध्यक्षमा हित काजी गुरुङ विजयी

नेपाली लिङ्क जुलाइ २३, २०२३

लन्डन । एनआरएनए यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् ।

आइतबार मध्यरात सकिएको अनलाइन मतदानमा गुरुङले कुल १४७९ मत ल्याएर सन् २०२३–२५ कार्यकालको नेतृत्व लिन सफल भएका हुन् ।

उनका प्रतिष्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कंडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी ‘भेरो’ ले घोषणा गरेको हो ।

अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष हुन् ।

त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी भए । दुई उपाध्यक्षमा रविन्द्र कंडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् ।

उपाध्यक्ष निर्वाचित रविन्द्र कंडेलले १४५६ र सुरेश परियारले १३१२ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षका अन्य प्रतिष्पर्धी ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ र अमन गौचनले ४२९ मत ल्याएर पराजित भएका छन् ।

स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रीले १६१५ मत ल्याएर विजयी भए भने उनीसंग पराजित राम बगालेले १५३० मत ल्याए ।

महासचिवमा गोविन्द शर्मा खरेलले १५८१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी बालकृष्ण भुषालले १५३७ मत ल्याए ।

त्यसैगरि, सह-कोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित भए । सह-कोषाध्यक्ष विजयी गुरुङले १८७५ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सुमन शर्माले १४३८ मत ल्याए ।

युवा संयोजकमा सुजित शाहीले १५७२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी वीरेन्द्र नेपालले १३५४ मत ल्याए ।

आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित भएका छन् । दिलरस गुरुङले १८६३, सुनिलबाबु खड्का १६९८, चन्द्र गुरुङ १६९० र विष्णु चालिसेले १६४३ मत ल्याएर विजयी भएका छन् । आइसीसी पराजित उम्मेदवारद्वय मोहन कार्की र डा. सुनिल साहले क्रमशः १३१२ र ९०५ मत ल्याए ।

इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सन्तोषकुमार सुवेदी ८५८ मत मात्र ल्याएर हार बेहोरे ।

स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डेले २४५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी उज्ववल कार्की ५ मतको झिनो अन्तर २४० मतसहित पराजित भए ।

एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको शपथ आइतबार हुने कार्यक्रम छ ।

शनिबार बिहान ६ बजे शुरु भएर अघि मध्यरातमा सम्पन्न अनलाइन मतदानमा कुल ३ हजार ७ सय २८ मत (८९.१२ प्रतिशत) खसेको निर्वाचन अनुगमनकर्ता एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले जानकारी दिए । कुल मतदाता ४ हजार १ सय ८३ थिए ।

सापकोटाका अनुसार खसेको मतमध्ये इंग्ल्याण्डमा ३ हजार ८५ (८७.७ प्रतिशत), स्कटल्याण्ड ४९२ (९८.६प्रतिशत), नर्दन आयरल्याण्ड र वेल्समा १५१ (९०.४ प्रतिशत) मत खसेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू