शनिबार, साउन १२, २०८१
05:42 | १०:२७

जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

रासस जुलाइ १६, २०२३

काठमाडौँ, ३१ असार -जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन् ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् ।

अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किने कार्यक्रम छ ।

नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउने छन् । जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइनेछन् ।

बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा शक्तिकान्त दासले संयुक्तरुपमा गर्नेछन् ।

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जांदै

उता, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने भएका हुन् ।

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १:३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्कनेछन् ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ (बंगलादेश–भारत–श्रीलंका–थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो ।

सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भइ यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू