शनिबार, १ नोभेम्बर, २०२५
01:07 | ०६:५२

नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा

नेपाली लिङ्क अक्टोबर ३१, २०२५

काठमाडौँ, कार्तिक १४, २०८२–नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । बुधबार काठमाडौँ कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो । पत्रकार –साहित्यकार हुँदै पछिल्लो समय कृषकका रुपमा आफ्नो गाउँ तनहुँ फर्किएका वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व रिनकनलाई पुस्तक उपहार दिएका थिए ।

नारायण वाग्लेले काठमाडौँमा लामो समय पत्रकारिता गरे । जहाँ उनले अनौपचारिक शैलीमा ‘कफी गफ’ लेखे । कफी गफको लोकप्रियता यति चुलियो कि वाग्ले अहिले पनि पाठकबाट ‘कफी गफ’को त्यो चुस्की लिइरहेका हुन्छन् । वाग्ले भन्छन्, ‘जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले ‘कोरियाना कफी गफ’ पुस्तकमा त्यही शैली अपनाएँ । तर, यो मेरो पत्रिकाहरूको संग्रह नभई नयाँ सृजना हो ।’

‘कोरियाना कफी गफ’लाई नेपालीबाट अंग्रेजीमा अनुवाद प्रवीण अधिकारीले गरेका हुन् । वाग्लेको त्यही कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको प्रवीण बताउँछन् । पञ्चायतको बन्द समाजपछि भर्खरभर्खर खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय आफूले वाग्लेलाई दिने गरेको अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘नारायण वाग्लेले अंग्रेजी पढ्ने सहरिया पुस्तालाई ‘कफी गफ’ र ‘पल्पसा क्याफे’ मार्फत नेपाली भाषातिर आकर्षित गरे ।’

‘कोरियाना कफी गफ’ पढ्दै जाँदा आफूले शैलीमा नवीनता, भाषामा लचकता, भावमा कोमलता भेटाएको अनुवादकको अनुभव छ । यति मीठोसँग लेखिएको कृति संसारलाई पढाउनुपर्छ भन्ने सोचेर त्यही साहित्यिक सुन्दरता अनुवादमा ल्याउन सकूँ भनेर आफूले आफैँलाई चुनौती दिँदै अनुवाद गरको अधिकारी बताउँछन् ।

लेखक वाग्लेले अनुवादक प्रवीण अधिकारीलाई धन्यवाद दिँदै भने, ‘आफू स्वयं पनि साहित्यकार भएको एक सिद्धहस्त अनुवादकले मेरो कृतिलाई झनै सुन्दर बनाइदिएका छन् ।’

नारायण वाग्लेले ‘पल्पसा क्याफे’ र ‘मयूर टाइम्स’ उपन्यासपछि सृजनशील गैरआख्यानका रुपमा ‘कोरियाना कफी गफ’ लेखेका हुन् । २० वर्षअघि प्रकाशन भएको ‘पल्पसा क्याफे’ले मदन पुरस्कार प्राप्त गर्यो । धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई ‘पल्पसा क्याफे’ अघि र पछिका रूपमा व्याख्या गरेका छन् ।

नारायण वाग्लेको ‘पल्पसा क्याफे’देखि प्रकाशन सुरु भएको पब्लिकेसन नेपालयले २० वर्ष पार गरेको छ । यो अवसरमा आफूहरुले सन् २०२५ मा नयाँ पुस्ताका रचना र अनुवाद कृति प्रकाशनमा जोड दिएको पब्लिकेसन नेपालयले जनाएको छ । २५ वर्षमुनिका लेखकहरुका रचना सार्वजनिक आह्वान गरी मागेको र ती नयाँ पुस्ताका रचना समेटी पुस्तक प्रकाशन गर्दै गरेको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ बताउँछन् । ”कोरियाना कफी गफ’ सँगै हामीले यस वर्ष भारतीय लेखक फणीश्वरनाथ रेणुले नेपालको २००७ सालको क्रान्तिबारे लेखेको पुस्तक ‘सात सालको कथा’, नोबेल पुरस्कार प्राप्त चिनियाँ लेखक मो यानका कथा र उपन्यासिकाको पुस्तक यस वर्ष प्रकाशन गरेका छौँ,’ श्रेष्ठ भन्छन्, ‘आउँदो महिना अनुवादको अर्को पुस्तक लोकार्पण गर्नेछौँ ।’

नेपालयबाट ६ वर्षअघि प्रकाशित ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद प्रकाशन पनि पब्किलेसन नेपालयले नै गरेको हो ।

गत वर्ष नोबेल पुरस्कार विजेता लेखक हान काङको ‘द भेजिटेरियन’लाई प्रवीण अधिकारीले नेपालीमा अनुवाद गरेका छन् भने इन्द्रबहादुर राईका कथाहरुलाई अंग्रेजीमा अनुवाद गरेका छन् ।

‘कोरियाना कफी गफ’ संसारभरका पाठकले अंग्रेजी वा नेपाली भाषामा सजिलै पढ्न सक्नेछन् । देशका प्रमुख पुस्तक पसलहरुका साथै ‘थुप्रै डट कम’ वा ‘अमेजन’ मार्फत पुस्तक किन्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू