शुक्रबार, वैशाख १४, २०८१
21:51 | ०२:३६

बेलायतका १० व्यक्तित्व सम्मानित  

नेपाली लिङ्क मे २२, २०२३

लन्डन । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम राख्न सफल भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगर बेलायतमा चर्चित व्यक्तिको रुपमा सम्मानित भएका छन् ।

बुढामगरसहित बेलायतका अन्य दश व्यक्तिलाई बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसरमा सन् २०२३ का चर्चित व्यक्तित्वको सूचीमा राखेर सम्मान गरिएको हो ।

सम्मानित हुनेमा शुक्रबारमात्रै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक (डबल एम्पुटी अबोभ नी)  हरि बुढा मगर, बीबीसी मास्टरसेफ विजेता सन्तोष साह, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा, बेलायतको टोटेनह्याम फुटबल क्लबसंग आवद्ध खेलाडी अस्मिता आले, चर्चित नेपाली चित्रकार गोविन्द साह ‘आजाद,’ एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ रहेकी छन् ।

यसैगरी ब्रिटिश आर्मीका सेवानिवृत्त मेजर जुदबहादुर गुरुङ,  बेलायतको किइल युनिभर्सिटीमा जनस्वास्थ्य विषयकी प्राध्यापक डा. प्रियंवदा पौड्याल, म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका पूर्व अध्यक्ष, भूतपूर्व गोर्खा सैनिक कमल पुर्जा एवम् कलाकार तथा नायक ध्रुव दत्तलाई पनि सम्मान गरिएको थियो।

त्यस्तै बेलायतमा कार्यरत सामाजिक संघ संस्थाहरुमध्येबाट नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको टिमलाई सम्मान गरियो ।

आइतबार स्टानवेल भिलेज हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल बाहिर रहेर पनि नेपालको उन्नतिमा सघाई रहेको पहिलो पुस्ताको योगदान महत्वपूर्ण रहेको बताए । उनले विश्वव्यापीकरणको आजको युगमा हामी सबै एकअर्कासंग सम्बन्धित रहेको बताए ।

राजदूत आचार्यले नेपालमा बसेका नेपाली र बेलायतमा बसेका नेपाली र ब्रिटिशहरुलाई सुसूचित गर्ने पत्रकारिताको भूमिका अवसर र चुनौती पनि रहेको बताए। ‘तपाईंहरुको आर्थिक मात्रै हैन, सीप, शिक्षा, नेटवर्क र अनुभव पनि योगदान हो। तपाईंहरुको अनुभव, सीप, नेटवर्क र पहुँचपनि महत्वपूर्ण छ,’ उनले भने।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले बेलायतको समाजलाई सुसूचित गर्ने काम समाजसेवा र आफ्नो क्षमताको प्रदर्शन पनि भएको बताए। ‘नेपाललाई केही दिन नेपालमै बस्नु पर्दैन, यहाँ बसेर पनि सेवा गर्न सकिन्छ । आर्थिक मात्रै हैन बौद्धिक लगानी गर्न सकिन्छ, सीप प्रविधि लगानी गर्न सकिन्छ, थुप्रै ठाउं छ,’ उनले भने।

उनले कम्बोडिया, इराक र इजिप्टको उदाहरण दिंदै मुलुक अगाडि बढी रहेको छ भन्दै निराश नहुन र आशावादी हुन सुझाव दिए।

एनआरएनए आइसीसीका उपाध्यक्ष डा हेमराज शर्माले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिने, गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षाबारे गहन छलफल भैरहेको बताए। ‘एनआरएनए जस्तो ठूलो संस्थामा टुटफुट भै रहन्छ, गाली खाइन्छ, नआत्तिनु होला, नेपाली समाजको रेफ्लेक्सन हो। एनआरएनलाई एक बनाउं, सबै अट्ने संस्था बनाउँ। नेपालमा घन्टी बजाएको जस्तै एनआरएनमा पनि घन्टी बजाउनु भयो भने मात्रै एनआरएनए  बच्छ,’ उनले भने।

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको शुभकामना बीबीसी नेपाली सेवाकी पूर्व प्रस्तोता संगीता मरहट्टाले पढेर सुनाएकी थिइन् ।

लन्डनस्थित नेपाली दूतावासकी उपप्रमुख श्रीमती रोशन खनाल, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, एनआरएनए युकेका अध्यक्ष सुनिल खड्का, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व संचारकर्मीद्वय सुमन खरेल तथा भगीरथ योगी, कृष्ण भट्ट  लगायतले शुभकामना दिएका थिए ।

त्यस्तै सुजन पराजुली तथा विकी सापकोटाले सांगीतिक प्रस्तुति दिएका थिए भने बिमला बुढाथोकीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

यसैगरी नेपाल ब्रिटेन डटकमलाई सघाउने सहयोगदाताहरुलाई पनि सम्मान गरिएको थियो। त्यस्तै १२ वर्षीया बालिका टिया आचार्यले नेपालका सामुदायिक विद्यालयहरु र नेपालमा कुकुर, बिराला जस्ता घाइते घरपालुवा जनावरको उपचार गर्न च्यारिटी अपिल गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू