स्कटल्यान्डको ‘हिमालयन सेन्टर’ लाई लन्डन दूतावासले अभिभावकत्व दिने


स्कटल्यान्ड- बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले एडिनबरास्थित हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरका लागि दूतावासको अभिभावकत्व रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
शनिबार एडिनबरामा आयोजित एक संयुक्त छलफलका क्रममा कार्यवाहक राजदूत दुवाडीले सेन्टरको संरक्षण र विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न दूतावास तत्पर रहेको बताएका हुन् ।
उनले दूतावास सधैं समुदायसँग सहकार्यमा रहने प्रतिवद्धता जनाउँदै आगामी सबै कन्सुलर सेवा यही हिमालयन सेन्टर भवनबाट सञ्चालन गरिने घोषणा गरे।
सो अवसरमा कार्यवाहक राजदूत दुवाडी र हिमालयन सेन्टरका पदाधिकारीबीच संस्थाको दिगोपन, सामुदायिक सुदृढिकरण र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने विषयमा विस्तृत संवाद भएको थियो।
बैठकको अध्यक्षता संस्थाका अध्यक्ष मनिश खत्री र सञ्चालन निर्देशक कमला श्रेष्ठले गरेकी थिइन्।
बैठकमा संस्थाका निर्देशक शशी कार्कीले विगत केही वर्षदेखि आर्थिक कठिनाइका कारण भवन सञ्चालनमा समस्या आइरहेको बताउँदै संस्थाको सबलीकरणका लागि समिति अहिले ‘गर वा मर’को स्थितिमा पनि अडेको बताएका थिए।
स्थानीय समाजसेवी एवम् बुद्धिजीवीहरू मोती खरेल, श्याम लिम्बु, सरोज जोशी लगायतको पहलमा संस्थाको संरक्षण र विकासका लागि २ लाख ५० हजार पाउण्ड संकलन गर्ने प्रस्ताव पनि राखिएको थियो।
कार्यक्रममा सहभागी एनआरएनए यूकेका महासचिव दिवाकर पाण्डे, महिला उपाध्यक्ष कमला श्रेष्ठ, फाइफ कम्युनिटीका पूर्वअध्यक्ष राम बगाले, एनआरएनए यूकेका पूर्वसचिव तारानाथ भण्डारी र एनआरएनए स्कटल्यान्डका पूर्वअध्यक्ष काशीराम भण्डारी लगायतले संस्थाको संरक्षण र समुदाय–दूतावास सहकार्यका विविध पक्षमा आफ्नो धारणा व्यक्त गरेका थिए।
बैठकमा उपस्थित सबै पदाधिकारी र समाजसेवीहरूले दूतावास स्कटल्यान्डवासी सबै नेपालीको भरोसा र अभिभावक संस्था भएकाले यस संस्थाको संरक्षणमा अग्रसर रहन कार्यवाहक राजदूत दुवाडीलाई आग्रह गरेका थिए।
सोही अवसरमा कार्यवाहक राजदूत दुवाडीकै नेतृत्वमा लन्डन दूतावासले स्कटल्यान्डको ग्लास्गोमा एक दिने ‘घुम्ती कन्सुलर सेवा’ सम्पन्न गरेको छ ।
–शशी कार्की



