अन्तर्राष्ट्रिय धादिङ समाजले गर्यो स्वास्थ्यकर्मीसँग अन्तरक्रिया


लन्डन । धादिङका स्वास्थ्यकर्मीहरूबीच अनुभव आदान–प्रदान र आपसी समन्वय बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले ‘स्वास्थ्य: धादिङ समुदायका लागि एकसाथ’ भन्ने नाराका साथ एक भर्चुअल स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा धादिङमा जन्म भई हाल स्वदेश तथा विदेशमा कार्यरत डाक्टर, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, स्वास्थ्य विज्ञ र चिकित्सा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।
अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता सुदिपभूषण अर्यालका अनुसार, कार्यक्रममा जिल्लाको वर्तमान स्वास्थ्य अवस्था, विद्यमान चुनौतीहरू र तिनका समाधानका उपायबारे छलफल गरिएको थियो। साथै, सहयोगका प्राथमिक क्षेत्रहरू पहिचान गर्ने, स्वास्थ्यकर्मीहरूबीच ज्ञान साझा गर्ने वातावरण निर्माण गर्ने, दिगो स्वास्थ्य नेटवर्क स्थापना र समुदायमा स्वास्थ्य परियोजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने रणनीति तय गर्ने उद्देश्य थियो।
कार्यक्रममा धादिङका स्थानीय स्वास्थ्यकर्मीहरू साथै स्वदेश र विदेशमा रहेका विशेषज्ञहरूले जिल्लामा देखिएका स्वास्थ्य समस्याहरू र सम्भावित समाधानका उपायहरूबारे विचार व्यक्त गरेका थिए। विदेशमा रहेका विशेषज्ञ र सहभागीहरूले जिल्लाको स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना रहेका थिए भने कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले गरेका थिए।
कार्यक्रममा डा. नस्तु प्रसाद शर्मा (अध्यक्ष तथा कार्यकारी निर्देशक, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल), लोकप्रसाद दाहाल (संरक्षक, अन्तर्राष्ट्रिय धादिङ समाज), डा. कमल अर्याल (कन्सल्टन्ट कोलोरेक्टल सर्जन तथा अनररी एसोसिएट प्रोफेसर, युनिभर्सिटी अफ इस्ट एङ्ग्लिया, युके), डा. नारायण धरैल (कन्सल्टन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा मेडिकल डाइरेक्टर अफ एन्डोस्कोपी, मेरी वासिङटन हस्पिटल, अमेरिका), डा. सरिता सिटौला (कन्सल्टन्ट गायनेकोलोजिस्ट तथा आईभीएफ विशेषज्ञ), डा. गोपी अर्याल (प्राध्यापक तथा सिनियर कन्सल्टन्ट प्याथोलोजिस्ट, नेपाल मेडिसिटी हस्पिटल), डा. गगन अधिकारी (जनरल सर्जन तथा कार्यवाहक निर्देशक, धादिङ हस्पिटल), डा. दिनेश रेग्मी (मेडिकल पत्रकार, धादिङ हस्पिटल), डा. विनय भण्डारी (प्रमुख कार्यकारी अधिकृत, मिराकल/गजुधारा डेन्टल केयर), डा. राम थापा क्षेत्री (प्रमुख चिकित्सक, स्वास्थ्य बीमा बोर्ड) लगायतका विशेषज्ञहरूले आफ्नो विचार राखेका थिए।
त्यस्तै, अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष बद्री खतिवडा, महासचिव बाबु काजी भण्डारी, धादिङ समाज अमेरिका का अध्यक्ष टक बहादुर रुवाली, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, र धादिङ हस्पिटलका स्वास्थ्यकर्मी कृष्ण उप्रेतीले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा करिब ३० जना सहभागी थिए जसमा फिनल्यान्ड, अमेरिका, जापान, क्यानडा, बेल्जियम, पोर्चुगल, अस्ट्रेलिया, युके, नेपाल, कोरिया, चेक गणराज्य तथा मध्यपूर्वका विभिन्न देशबाट स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।
अध्यक्ष राजन खकुरालले निकट भविष्यमै अन्तर्राष्ट्रिय धादिङ समाजमा स्वास्थ्य विभाग गठन र जिल्ला स्वास्थ्य निकाय तथा नीलकण्ठ नगरपालिकासँग सहकार्य गरी दीर्घकालीन स्वास्थ्य योजनाको खाका तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रम सञ्चालन क्रिटिकल केयर आउटरिच विशेषज्ञ तथा न्यू बक्स विश्वविद्यालयकी एसोसिएट लेक्चरर प्रसुन्ना कंडेलले गरेकी थिइन् ।
कार्यक्रमले धादिङ जिल्लाको स्वास्थ्य विकासका लागि देश–विदेशमा रहेका धादिङेली स्वास्थ्यकर्मीबीच साझा दृष्टिकोण र सहयोगी नेटवर्क निर्माणको नयाँ अध्याय सुरु गरेको सहभागीहरूले बताएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



